हामी ज्ञानमा पनि फास्टफुड खोजिरहेका छौँ : शैलेन्द्र अधिकारी
साहित्यकार शैलेन्द्र अधिकारीका लागि साहित्य मनोरञ्जनको माध्यममात्र होइन, समाज, इतिहास, दर्शन र मानिसको चेतनालाई बुझ्ने माध्यम पनि हो । गजलबाट साहित्यिक यात्रा सुरु गरेका अधिकारी अहिले आख्यानकारका रूपमा स्थापित छन् । उनका उपन्यासमा इतिहास, दर्शन, समाज र मानिसको मनोविज्ञान एकअर्कासँग जोडिएर आउँछन् ।
दैनिकी संवादमा माधवप्रसाद तिवारीसँग लामो कुराकानी गर्दै अधिकारीले आफ्नो साहित्यिक यात्रादेखि पछिल्लो उपन्यास तेजस, बौद्ध दर्शन, काठमाडौंको नेवार समुदाय, नेपाल भाषा, बौद्ध भिक्षुहरूको संघर्ष तथा नेपालको ज्ञान निर्माणको अवस्थासम्मका विषयमा आफ्ना धारणा राखेका छन् ।
अधिकारीका अनुसार मानिसको परिचय पनि स्थिर हुँदैन । एउटै व्यक्ति फरक ठाउँ र सम्बन्धमा फरक परिचयले चिनिन्छ । घरमा छोरा, ससुरालीमा ज्वाइँ, मामाघरमा भान्जा भएजस्तै पुस्तक लेख्दा लेखक, कलेजमा पढाउँदा अध्यापक र कुनै अर्को सन्दर्भमा अर्को परिचय बन्न सक्छ ।
‘खासमा म शैलेन्द्र अधिकारी नै हो,’ उनले भने, ‘स्थानअनुसार परिचय फरक हुन्छ। किताब कसैले पढ्दा म साहित्यकार हुन्छु, कलेज पढाउँदा अध्यापक हुन्छु। तर मेरो मूल परिचय शैलेन्द्र अधिकारी नै हो।’
अधिकारीले सन् २००७ अर्थात् २०६४ सालतिर गजलबाट साहित्यिक यात्रा सुरु गरेका थिए । त्यतिबेला काठमाडौंमा गजल लेखनको छुट्टै माहोल थियो। गजल लेख्ने युवाहरूको संस्था ‘अनाममण्डली’सँग जोडिएपछि उनले गजल लेखन र परिष्कारको अभ्यास गरे।
त्यहाँ लेख्ने मात्र होइन, पढ्ने, बहस गर्ने र रचनालाई परिष्कृत गर्ने संस्कार रहेको उनले सम्झिए। त्यही वातावरणले आफूलाई साहित्यतर्फ गहिरो रूपमा तान्दै लगेको उनको भनाइ छ।
‘मान्छेले आफूलाई अभिव्यक्त गर्ने कुनै न कुनै माध्यम खोज्दो रहेछ,’ उनले भने, ‘कसैले कविता खोज्छ, कसैले गीत, कसैले गजल। मैले गजल खोजेँ।’
तर गजलमै आफूलाई निरन्तरता दिन नसकेको स्वीकार गर्न पनि अधिकारी हिच्किचाउँदैनन्। गजलका दुई पुस्तक प्रकाशित गरेपछि उनलाई आफ्नो लेखनको क्षमता र रुचि अर्कै विधातर्फ रहेको महसुस भयो।
‘इमान्दारीसाथ भन्दा मैले राम्रो गजल लेख्न सकिनँ,’ उनले भने, ‘किताब आएपछि पाठकले पढ्छ। मैले यस्तो गजल लेखेँ भन्ने प्रमाण पनि रहन्छ। त्यसलाई बढाइचढाइ गरेर के गर्नु?’
त्यसपछि उनको साहित्यिक यात्रा समालोचना हुँदै आख्यानतर्फ मोडियो।
अधिकारीका अनुसार उनको साहित्यिक लेखनलाई तीन चरणमा बुझ्न सकिन्छ। सुरुमा गजल, त्यसपछि समालोचना र अन्ततः आख्यान। त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा एमफिल अध्ययन गर्दा उनको अनुसन्धान र समालोचनात्मक चेत अझ विकसित भयो।
उनले एमफिल अध्ययनका क्रममा अनुसन्धानमा आधारित लेखनको अभ्यास गरेको बताए। उनका थेसिस गाइड डा. दुर्गाप्रसाद दाहालले आफूलाई विश्वविद्यालयमा रहनुपर्ने र पुस्तक लेख्नुपर्ने मान्छेका रूपमा प्रोत्साहित गरेको उनले स्मरण गरे।

‘उहाँले मलाई किताब लेख्नुपर्छ भनेर काम दिन थाल्नुभयो। एउटा–एउटा भाग लेखेर पठाउन भन्नुहुन्थ्यो,’ उनले भने, ‘मलाई पनि गुरुको निगरानीमा किताब लेख्न पाइरहेको छु भन्ने लाग्यो। गल्ती गर्दा उहाँले सच्याइदिनुहुन्थ्यो।’
यस क्रममा सहलेखनमा पुस्तक लेख्ने अवसर पनि पाए। पछि उनले आधुनिक नेपाली उपन्यासमा सबाल्टर्न विषयमा पीएचडी गर्ने प्रक्रिया सुरु गरे। तर लेखनको अर्को बाटोले उनलाई फेरि तान्यो।
सानासाना उपन्यासका टुक्रा लेखिरहेका अधिकारीले एउटा उपन्यास पहिले पूरा गर्ने निर्णय गरे। त्यसैको परिणाम थियो निर्वेद।
२०७६ सालमा प्रकाशित निर्वेद ले पाठकको ध्यान तान्यो। उपन्यासको संरचना, कथा र प्रस्तुतिको शैलीलाई पाठकले रुचाएपछि अधिकारीलाई आफ्नो वास्तविक साहित्यिक क्षेत्र आख्यान नै रहेछ भन्ने महसुस भयो।
‘साथीहरूले भने– तैँले लेख्नुपर्ने यही रहेछ, तँ आफैँ कहाँ छस् थाहा नपाई अर्को क्षेत्रमा गइराखेको रहेछस्,’ उनले भने, ‘त्यसपछि मलाई पनि लाग्यो, बजारले पत्यायो कि क्या हो, पाठकले माया गरे कि क्या हो।’
त्यसपछि उनी आख्यानमै केन्द्रित भए।
हालसम्म उनका तीन उपन्यास, एक कथा संग्रह, दुई समालोचना पुस्तक, दुई गजल संग्रह तथा विभिन्न विश्वविद्यालयका पाठ्यक्रमसँग सम्बन्धित सहलेखनका पुस्तकहरू प्रकाशित छन्। उनका प्रमुख आख्यानिक कृतिमा निर्वेद, अरहत र पछिल्लो उपन्यास तेजस छन्। २०७९ सालमा ब्रह्मास्त्र कथा संग्रह पनि प्रकाशित भयो।
मेरो उपन्यास मनोरञ्जनका लागि मात्र होइन
अधिकारी आफ्ना उपन्यासलाई मनोरञ्जनका लागि मात्र पढिने पुस्तकका रूपमा हेर्दैनन्। उनका अनुसार साहित्यको एउटा महत्त्वपूर्ण काम पाठकलाई सोच्न बाध्य पार्नु पनि हो।
उनका उपन्यास पढ्ने पाठकबाट आउने प्रतिक्रियाले पनि यही देखाएको उनी बताउँछन्। कतिपय पाठकले ‘गजब लेख्यौ, अझ लेख’ भन्ने प्रतिक्रिया दिन्छन् भने कतिपयले कथामा छुटेका विषय वा प्रस्तुतिको कोणमाथि प्रश्न गर्छन्।
‘पाठकले तथ्यमा तर्क गर्न थाले भने त्यो खुसीको कुरा हो,’ उनले भने, ‘उपन्यास पढेर तथ्य, विषय र दृष्टिकोणमाथि बहस हुन्छ भने लेखकका लागि त्यो सकारात्मक कुरा हो।’
उनका अनुसार सबै पाठकको रुचि एउटै हुँदैन। प्रेमकथा पढ्ने, सामाजिक विषय पढ्ने, ऐतिहासिक विषय पढ्ने र दर्शनमा रुचि राख्ने पाठक फरक हुन्छन्।
उनका पुस्तकमा दर्शनको पाटो बलियो भएकाले आफूले पाउने प्रतिक्रिया पनि त्यसैसँग जोडिएको उनको भनाइ छ।
विशेषगरी अरहत मा गौतम बुद्धको जीवनयात्रालाई फरक कोणबाट प्रस्तुत गरिएको उनले बताए। सिद्धार्थ गौतमबाट गौतम बुद्ध र त्यसपछि तथागतको यात्रालाई उपन्यासमा समेटिएको उनको भनाइ छ।
‘घरबाट विरक्त भएर निस्किएको सिद्धार्थ गौतम कुन–कुन चरण पार गरेर गौतम बुद्ध बन्यो, उनले कसरी ज्ञान प्रसार गरे, कस्ता मानिसहरू भिक्षुसंघमा आए र महापरिनिर्वाण कसरी भयो भन्ने यात्रा मैले प्रस्तुत गरेको छु,’ उनले भने।
तर पाठकले त्यहाँ पनि प्रश्न गरे।
एक पाठकले अरहत पढेपछि ‘यसमा विपश्यनाको कुरा आएन’ भनेर प्रश्न गरेको अधिकारीले सुनाए। उनका अनुसार त्यो प्रश्नले आफूलाई पाठकको अपेक्षा कति फरक हुन सक्छ भन्ने बुझायो।
‘पछि मैले सोचेँ, उहाँ ध्यानसँग एकदम जोडिनुभएको रहेछ,’ उनले भने, ‘यस्ता प्रतिक्रिया पनि आउँछन्। कसैले दर्शन गम्भीर भयो, बुझ्न गाह्रो भयो पनि भन्छन्।’
म दर्शनको प्रारम्भिक विद्यार्थी हुँ
दर्शनको विषयमा लेखे पनि अधिकारी आफूलाई दर्शनको विशेषज्ञ मान्दैनन्। ‘म दर्शनको प्रारम्भिक विद्यार्थी हुँ,’ उनले स्पष्ट भने।
उनका अनुसार पूर्वीय दर्शन आफैँमा अत्यन्त विशाल छ। सांख्य, बौद्ध, वेदान्तलगायतका दर्शनको अध्ययन एउटै व्यक्तिले पूर्ण रूपमा गर्न सम्भव छैन। बौद्ध दर्शनकै विभिन्न शाखा र परम्पराको विकास नेपाल, भारत, तिब्बत, जापान, ताइवानलगायत विभिन्न ठाउँमा फरक ढंगले भएको उनको भनाइ छ।
त्यसैले आफूले दर्शनको सम्पूर्ण ज्ञान भएको दाबी नगर्ने उनी बताउँछन्। ‘म सबै बुझेको मान्छे होइन। मलाई दर्शन पढ्न रुचि छ र मैले जानेसम्मका कुरा लेखाइमा कतै न कतै प्रस्तुत गरेको छु,’ उनले भने। यही दृष्टिकोण उनको पछिल्लो उपन्यास तेजस मा पनि देखिन्छ।
‘तेजस’मा काठमाडौंको इतिहास र बौद्ध दर्शन
तेजस अधिकारीका लागि केवल उपन्यास होइन, अनुसन्धानबाट निर्माण भएको आख्यान पनि हो। काठमाडौं कसरी बन्यो, यहाँको नेवार समुदायको इतिहास, नेपाल भाषामाथिको अतिक्रमण, बौद्ध भिक्षुहरूको संघर्ष र काठमाडौंमा बौद्ध दर्शनको विकासलाई उनले कथासँग जोडेको बताए।
‘तेजस’ शब्दको अर्थ नै ज्ञानको ज्योति वा प्रकाशसँग जोडिने अधिकारी बताउँछन्।
उनका अनुसार काठमाडौंको इतिहास पढ्दा प्रायः राजनीतिक परिवर्तनका क्रममा ठूला राजनीतिक दल वा शासकहरूको भूमिकामा मात्रै ध्यान दिइएको पाइन्छ। तर काठमाडौंको नेवार समुदायभित्र प्रजातन्त्रका लागि भएका गतिविधि र सांस्कृतिक संघर्षबारे पर्याप्त चर्चा नभएको उनको दाबी छ।
उनले नेपाल भाषामाथि राज्यबाट भएको दमनको इतिहासलाई पनि उपन्यासमा समेटेका छन्।
चन्द्रशमशेरको शासनकालमा नेपाल भाषामा लेखिएका तमसुकलाई मान्यता नदिइएको प्रसंगदेखि नेपाल भाषामा लेखिएका सामग्रीमाथि भएको दमनसम्मका विषय उनले अनुसन्धानका क्रममा भेटेको बताए।
त्यही क्रममा उनले ‘ज्ञानमाला भजन’को भूमिकाबारे पनि अध्ययन गरे।
स्वयम्भूनाथ आसपासबाट सञ्चालन भएको ज्ञानमाला भजनले नेपाल भाषामार्फत बौद्ध दर्शन र सामाजिक चेतना फैलाउन भूमिका खेलेको उनको भनाइ छ।
‘नेवारी भाषामार्फत उनीहरूले बुद्धको गाथा र ज्ञानका कुरा सुनाए। त्यही माध्यमबाट प्रजातन्त्रका विषय पनि उठाए,’ उनले भने, ‘त्यो ठूलो काम रहेछ, तर त्यसको चर्चा बाहिर धेरै आएन।’
अधिकारीका अनुसार काठमाडौंको नेवार समुदायले आफ्नो सांस्कृतिक अस्तित्व जोगाउँदै आएको छ। राज्यको मूल राजनीतिक संरचनामा लामो समय प्रभावकारी प्रतिनिधित्व नहुँदा पनि उनीहरूले जात्रा, संस्कृति, भाषा, धर्म र परम्परा जोगाएको उनको विश्लेषण छ।
बसन्तपुरमा जन्मिएको मान्छे पनि सबाल्टर्न हुन सक्छ
अधिकारीको अर्को महत्त्वपूर्ण निष्कर्ष हो– सबाल्टर्न हुनुका लागि दुर्गम भूगोलमा जन्मिनैपर्छ भन्ने छैन। ‘मान्छे सबाल्टर्न हुन कर्णाली, सुदूरपश्चिम वा सोलुखुम्बुमा जन्मिनुपर्छ भन्ने रहेनछ,’ उनले भने, ‘बसन्तपुरमा जन्मिएको मान्छे पनि सबाल्टर्न हुन सक्छ।’
यही दृष्टिकोणबाट उनले काठमाडौंको नेवार समुदायलाई अध्ययन गरेका छन्। काठमाडौंको केन्द्रमै रहेर पनि राज्यसत्ताको मूल प्रभावबाट बाहिर रहेको समुदायको इतिहास, भाषा र सांस्कृतिक संघर्षलाई उनले तेजस मा जोडेको बताए।
बुद्ध जन्मिएको देशमा भिक्षुहरूलाई देशनिकाला गरियो
तेजस को अर्को प्रमुख पाटो नेपालमा बौद्ध भिक्षुहरूले भोगेको संघर्ष हो। नेपालमा बुद्ध जन्मिएको भन्ने गौरव गरिए पनि इतिहासको एउटा कालखण्डमा बौद्ध भिक्षुहरूलाई देशनिकाला गरिएको अधिकारी बताउँछन्।
उनका अनुसार राणा शासनकालमा बौद्ध भिक्षुहरूको गतिविधिलाई शंकाको दृष्टिले हेर्ने र नियन्त्रण गर्ने प्रयास भएको थियो। जुद्धशमशेरको समयमा आठ जना भिक्षु तथा श्रामणहरूलाई देशनिकाला गरिएको प्रसंग पनि उनले अनुसन्धानका क्रममा भेटेको बताए।
‘आठ वर्षको बालकसमेत देशनिकाला भएको प्रसंग छ,’ उनले भने, ‘चन्द्रागिरिसम्म लगेर जहाँसुकै जाऊ भनेर छोडिएको इतिहास भेटिन्छ।’ यस्ता घटनाहरू पछि मौखिक परम्परामा कथा र मिथकमा परिणत हुँदै गएको उनले बताए।
बुद्धलाई धर्मभन्दा ज्ञानका रूपमा बुझ्नुपर्छ
अधिकारीका लागि बुद्धको सबैभन्दा महत्त्वपूर्ण पक्ष धर्मभन्दा ज्ञान हो। उनले बुद्धलाई केवल शान्तिको प्रतीक, मूर्ति वा धार्मिक प्रतीकमा सीमित गर्नु बुद्धको मूल शिक्षालाई संकुचित गर्नु भएको बताए।
‘हामीले बुद्धलाई धेरै सानो बनाइदियौँ,’ उनले भने, ‘बुद्धको ज्ञानलाई प्रचार गर्नुपर्ने हो। आजको संसारलाई चाहिएको बुद्धको ज्ञान हो।’ चार आर्य सत्य र अष्टांगिक मार्गको गहिरो अर्थ नबुझी केवल ‘हिंसा नगर, सत्य बोल’ जस्ता सामान्य वाक्यमा बुद्धलाई सीमित गरिएको उनको गुनासो छ।
उनका अनुसार बुद्ध दर्शनलाई धर्मको सीमाभन्दा बाहिर पनि अध्ययन गर्न सकिन्छ। ‘धर्मभन्दा धेरै माथि ज्ञानको कुरा हो,’ उनले भने, ‘बुद्ध दर्शन सुरुमा आएको हो, बुद्ध धर्म पछि संस्थागत भएको हो।’
काठमाडौंमा बौद्ध धर्म बुझ्न तीन शाखा बुझ्नुपर्छ
काठमाडौंको बौद्ध परम्परा बुझ्न स्थविरवाद, महायान र बज्रयानका भिन्नता बुझ्नुपर्ने अधिकारी बताउँछन्।
स्थविरवादले बुद्धलाई महामानव र ज्ञानका स्रोतका रूपमा स्वीकार गर्दै बुद्धका उपदेश र ज्ञानलाई केन्द्रमा राख्ने उनी बताउँछन्। महायानमा बुद्धप्रतिको भक्ति र आराधनाको पक्ष बलियो हुने तथा बज्रयानको विकास महायानसँग जोडिएको उनको व्याख्या छ।
काठमाडौं उपत्यकामा बौद्ध धर्मको विकास पनि यिनै विभिन्न धारासँग जोडिएको उनले बताए। काठमाडौंका नेवार समुदाय र तिब्बतबीचको ऐतिहासिक व्यापारिक सम्बन्धले पनि बौद्ध परम्पराको विकासमा भूमिका खेलेको उनको भनाइ छ।
ल्हासा व्यापारका लागि जाने काठमाडौंका व्यापारीहरू, विशेषगरी साक्य समुदायसँग जोडिएका व्यक्तिहरू, तिब्बतमा बौद्ध परम्परासँग सम्पर्कमा आएका र त्यसको प्रभाव काठमाडौंमा परेको उनले बताए।
गुम्बा र बिहार एउटै होइन
काठमाडौंमा देखिने बौद्ध संरचनालाई पनि एउटै रूपमा बुझ्न नहुने अधिकारी बताउँछन्। बिहारमा भिक्षुहरू बस्ने, अध्ययन गर्ने र ध्यान गर्ने परम्परा रहेको उनले बताए। कतिपय बिहारमा श्रामणहरूले बौद्ध दर्शन, पाली भाषा र परियत्ति शिक्षा अध्ययन गर्ने गरेको उनको भनाइ छ।
गुम्बा र बिहारको संरचना, परम्परा र अभ्यासमा पनि भिन्नता रहेको उनले स्पष्ट पारे। उनले काठमाडौंको विश्व शान्ति बिहारको उदाहरण दिँदै त्यहाँ कलिला श्रामणहरूले पाली भाषा र बौद्ध शिक्षा अध्ययन गरिरहेको बताए।
उनका अनुसार बौद्ध परम्परा दानमा आधारित भएकाले इच्छुक व्यक्तिले भोजन वा अन्य आवश्यक सामग्री दान गर्न सक्ने व्यवस्था पनि हुन्छ।
गुम्बामाथि आरोप लगाउने हो भने तथ्य चाहिन्छ
काठमाडौं वरपरका डाँडामा रहेका गुम्बाहरूलाई शंकाको दृष्टिले हेर्ने पछिल्लो प्रवृत्तिप्रति पनि अधिकारीले टिप्पणी गरे। कतिपय गुम्बा सन्दिग्ध गतिविधिको केन्द्र भएको, हतियार राखिएको आदि आरोप लाग्ने गरे पनि त्यस्ता आरोप पुष्टि गर्ने ठोस तथ्य सार्वजनिक नभएको उनले बताए।
‘राज्यले अनुसन्धान गर्नुपर्छ। कुनै गुम्बाभित्र गलत गतिविधि हुन्छ भने त्यो राज्यको विषय हो,’ उनले भने, ‘तर तथ्यबिना सबै गुम्बालाई एउटै आँखाले हेर्नु ठीक होइन।’ उनले बौद्ध भिक्षु र बौद्ध संस्थाको अध्ययनमा आफू धार्मिक प्रचारभन्दा ज्ञान र दर्शनको कोणबाट केन्द्रित रहेको स्पष्ट गरे।
हामी ज्ञानमा पनि फास्टफुड खोजिरहेका छौँ
कुराकानीको अन्तिम भागमा अधिकारी नेपालको शिक्षा र ज्ञान निर्माणको अवस्थाप्रति निकै आलोचनात्मक देखिए। उनका अनुसार नेपाली समाजमा गहिरो अध्ययन र साधनाभन्दा तत्काल परिणाम खोज्ने प्रवृत्ति बढेको छ।
‘हामी ज्ञानमा पनि फास्टफुड खोजिरहेका छौँ,’ उनले भने, ‘मम जस्तो ट्यापटप टिप्यो, खायो सकियो।’ उनका अनुसार विद्यार्थीलाई नपढी पास हुनुपर्ने, धेरै नम्बर ल्याएर तुरुन्त जागिर खानुपर्ने र प्रमाणपत्रलाई नै ज्ञानको मापदण्ड मान्ने प्रवृत्ति बढेको छ।
‘हामी ज्ञानलाई सर्टिफिकेटमा तौलिरहेका छौँ,’ उनले भने, ‘कसैले ज्ञानका लागि साधना गरिरहेको छ भने उसको सर्टिफिकेट खोज्छौँ।’ उनले विश्वविद्यालयको अवस्थामाथि पनि प्रश्न गरे। नेपालमा पूर्वीय दर्शनको विशाल परम्परा भए पनि आफ्नै दर्शनको गहिरो अध्ययन हुन नसकेको र पश्चिमी दर्शनलाई पनि पर्याप्त रूपमा नबुझी आलोचना गर्ने प्रवृत्ति रहेको उनले बताए।
‘हामीलाई हाम्रो दर्शन पनि राम्रोसँग थाहा छैन, पश्चिमी दर्शन पनि राम्रोसँग बुझेका छैनौँ,’ उनले भने, ‘पहिला पश्चिमी दर्शनलाई गाली गर्छौँ, हाम्रो राम्रो हो भन्छौँ। तर हाम्रो राम्रो के हो भन्ने पनि थाहा छैन।’
हामीले आफ्नै दर्शन पढेका छैनौँ
उनका अनुसार सांख्य, वेदान्त, बौद्धलगायत पूर्वीय दर्शनमाथि हजारौँ वर्षदेखि बहस, टीका र भाष्य लेखिएका छन्। तर नेपाली समाजमा ती सामग्री पढ्ने संस्कार कमजोर छ। ‘हाम्रो पढ्ने संस्कार नै कमजोर छ,’ उनले भने, ‘हामीसँग ज्ञानको खोजीभन्दा प्रमाणपत्रको खोजी बढी छ।’
उनका अनुसार कसैले पश्चिमी विद्वानले नेपाली वा पूर्वीय दर्शनमाथि अनुसन्धान गरेको देखेपछि ‘यो त हाम्रो पहिल्यै थियो’ भन्ने दाबी गर्ने प्रवृत्ति पनि गलत छ। ‘पहिल्यै थियो भनेर मात्रै हुँदैन,’ उनले भने, ‘त्यो कुरा आफैँले पढ्नुपर्छ, बुझ्नुपर्छ र प्रमाणित गर्नुपर्छ।’ यसका लागि पढ्ने संस्कार विकास गर्नुपर्ने उनको धारणा छ।
बच्चाको अगाडि मोबाइल नचलाऊँ
अधिकारीले ज्ञान निर्माणलाई घरको संस्कारसँग पनि जोड्छन्। आफ्ना सन्तानको अगाडि आफू र श्रीमतीले मोबाइल नचलाउने गरेको उनले बताए। ‘म पाँच बजे घर पुग्छु। बच्चाहरू होमवर्क गरुन्जेलसम्म म र मेरी श्रीमती मोबाइल चलाउँदैनौँ,’ उनले भने, ‘म फेसबुक हेर्दै बसेँ भने मेरो बच्चाले कसरी पढ्छ?’
उनका अनुसार अभिभावकले पढ्ने वातावरण नबनाई बच्चालाई पढ्न प्रेरित गर्न सकिँदैन। घरमा सानो भए पनि पुस्तकालय बनाउनुपर्ने र बच्चालाई किताबसँग हुर्काउनुपर्ने उनको धारणा छ।
हामी आफ्ना पूर्वजको ज्ञानमा ब्याज खाइरहेका छौँ
नेपाली समाजको अर्को समस्या आफ्ना पूर्वजको ज्ञान र गौरवलाई वर्तमानमा अध्ययन नगरी त्यसको नाममा गर्व मात्र गर्नु भएको अधिकारी बताउँछन्। ‘हामी भन्छौँ, हाम्रा पूर्वजले वेद लेखे, उपनिषद् लेखे, महाभारत लेखे,’ उनले भने, ‘तर अहिले हामीले ती कुरा कति पढेका छौँ?’
उनका अनुसार पूर्वीय सभ्यताको गौरव गर्ने हो भने त्यसको अध्ययन पनि गर्नुपर्छ। ‘हामीले आफ्ना पूर्वजको ज्ञानमा ब्याज खाइरहेका छौँ,’ उनको निष्कर्ष छ।
आफूलाई पनि त्यसै समस्याबाट अलग नराख्ने उनले स्पष्ट गरे। ‘म पनि यही समाजको मान्छे हुँ। म पनि त्यही समस्याभित्र छु,’ उनले भने, ‘म चाहन्छु मेरो किताब धेरै बिकियोस्, सबैले राम्रो भनून्। तर किताब लेख्ने बेला मेहनत नगर्ने हो भने त्यो सम्भव हुँदैन।’
दर्शनले मानिसलाई रूपान्तरण गर्छ
पूर्वीय दर्शनको अध्ययनले मानिसको व्यवहारमै परिवर्तन ल्याउन सक्ने अधिकारीको विश्वास छ। उनले पछिल्लो समय पूर्वीय दर्शन र संस्कृत अध्ययनमा रुचि देखाएका केही राजनीतिक व्यक्तिहरूको उदाहरण दिँदै दर्शन केवल पुस्तकभित्र सीमित विषय नभएको बताए।
उनका अनुसार दर्शनले मानिसलाई आफूभित्र हेर्न बाध्य बनाउँछ। b‘दर्शन पढेपछि मान्छेले आफैँलाई हेर्न थाल्छ,’ उनले भने, ‘मैले के जानेँ, के जानिनँ, अझै के जान्न बाँकी छ भन्ने कुरा थाहा पाउनु नै ज्ञानको सुरुवात हो।’
उनका लागि ज्ञानको वास्तविक यात्रा त्यहीँबाट सुरु हुन्छ। ‘जब हामीलाई आफू केही पनि होइन, ज्ञानको महासागरमा म एउटा थोपा पनि होइन रहेछु भन्ने बोध हुन्छ, तब घमण्ड कम हुन्छ,’ उनले भने, ‘अनि बल्ल ज्ञानको प्रक्रिया सुरु हुन्छ।’
साहित्यकार अधिकारीको यो भनाइ उनको आफ्नै साहित्यिक यात्रासँग पनि मिल्छ। गजलबाट सुरु भएको यात्रा समालोचना हुँदै आख्यानमा पुगेको छ। अनुसन्धान, अध्ययन र लेखनको निरन्तरताले उनलाई निर्वेद, अरहत हुँदै तेजस सम्म ल्याएको छ।
उनको पछिल्लो उपन्यास तेजस मा इतिहास, दर्शन, भाषा, संस्कृति र समाजलाई आख्यानसँग जोड्ने प्रयास छ। पाठकले त्यसलाई मनोरञ्जनका रूपमा मात्र होइन, प्रश्न गर्ने र बहस गर्ने पुस्तकका रूपमा ग्रहण गरून् भन्ने उनको अपेक्षा देखिन्छ।
दैनिकी संवादमा भएको लामो कुराकानीको अन्त्यमा अधिकारीले फेरि दर्शनकै विषयमा अर्को संवाद गर्ने प्रतिबद्धता जनाए । किनकि उनका लागि साहित्य केवल कथा होइन, कथा हुँदै ज्ञानसम्म पुग्ने बाटो हो । र उनको आफ्नै शब्दमा भन्नुपर्दा— मानिसले अरूलाई बुझ्नुभन्दा पहिले आफूले के जानेको छु र के जान्न बाँकी छ भन्ने बुझ्न थाल्नु नै ज्ञानको वास्तविक सुरुवात हो ।
प्रकाशित मिति : November 13, 2026 at 10:59 am










