असिना पानीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, टर्मिनलमा पानी पस्यो
२५ कात्तिक, काठमाडौं । काठमाडौँको पूर्वी र दक्षिण भेगमा परेको भीषण असिनापानीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बुधबार दिउँसो झण्डै एक घण्टा विमानस्थल बन्द भएको हो ।
विमानस्थल बुधबार दिउँसो ५५ मिनेट बन्द भएको प्रवक्ता सञ्जय कुमारले बताएका छन । उनले दैनिकीसँग कुरा गर्दै दिउँसो १ बजेर ४७ मिनेटमा बन्द भएको विमानस्थल २ बजेर ४२ मिनेटमा सञ्चालनमा आएको बताए ।
सञ्जयका अनुसार असिनापानीका कारण धावनमार्गको करिब १ हजार ५०० मिटर खण्ड अवरुद्ध भएको र बाँकी खण्ड पनि चिप्लो भएर अबरूद्ध भएको हो । उनका अनुसार दुई जाहाज डाइभर्ट गरिएको छ । विमानस्थल कार्यालयका अनुसार एक जाहाज भारतको भारतको लखनउ डाइभर्ट गरिएको छ भने अर्को बनारस डाइभर्ट गरिएको छ ।

आन्तरिक विमानहरू झण्डै एक घण्टा आकाशमा होल्ड भएर अहिले अवतरण भैरहेका छन ।
यसैबीच असिनासहितको दर्के झरीका कारण विमानस्थलको आन्तरिक टर्मिनलको सेवा पनि प्रभावित भएको छ । टर्मिनल भवनभित्रै पानी पसेपछि आन्तरिकतर्फका उडान तथा यात्रु व्यवस्थापन प्रभावित भएको हो ।
विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र पानी पसेर भुइँ जलमग्न भएपछि विभिन्न गन्तव्यका लागि उडानको तयारीमा रहेका यात्रु समस्यामा परेका छन् । चेक–इन गरी बोर्डिङ पास लिइसकेका यात्रुसमेत टर्मिनलभित्र पानीका कारण सहज रूपमा आउजाउ गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
दर्के वर्षाका कारण टर्मिनल भवनको कमजोर छानोबाट पानी चुहिएर भित्र पसेको विमानस्थल कार्यालयले जनाएको छ । चेक–इन काउन्टरबाट भित्र जाने क्षेत्रमै पानी जमेको छ ।
प्रकाशित मिति : November 11, 2026 at 3:23 pm










