नेपालमा तथ्याङ्कलाई निर्णय र वित्तीय उपकरणसँग जोड्न सकिएनः अर्थमन्त्री वाग्ले
२५ कात्तिक, काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा मौसम तथा जलवायु जोखिमसम्बन्धी तथ्याङ्कको अभावभन्दा पनि उपलब्ध तथ्याङ्कलाई निर्णय र वित्तीय उपकरणसँग जोड्न नसकिएको समस्या रहेको बताएका छन्।
टर्कियेको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत सोमबार युएनएफसीसीसी प्याभिलियनमा आयोजित सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी (SOFF) को उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।
उनले नेपालमा उपलब्ध मौसम तथा नदीसम्बन्धी उपकरणले जोखिमको वास्तविक स्वरूप पहिचान गर्न नसक्दा पूर्वव्यवस्थित वित्तीय संयन्त्रसमेत प्रभावकारी हुन नसक्ने बताए।
वाग्लेले आफू अर्थमन्त्रीका रूपमा जलवायु तथा मौसमसम्बन्धी मञ्चमा किन उपस्थित हुनुपरेको भन्ने प्रसंग जोड्दै सन् २०२६ अगस्ट २६ को बिहान भोटेकोशी–त्रिशूली करिडोरमा भएको विपत्तिको उदाहरण प्रस्तुत गरे।
‘त्यसो भए एक जना अर्थमन्त्री यो मञ्चमा किन छ?’ भन्ने प्रश्नबाट आफ्नो भनाइ सुरु गरेका उनले त्यस बिहान नेपालको उच्च हिमाली क्षेत्रमा चट्टानी भित्तो भत्किएर लेदोसहितको बाढीमा परिणत भएको बताए।

उनका अनुसार उक्त घटनाका बेला नेपालसँग भएका मौसम तथा जलसम्बन्धी उपकरण, ऋण सुविधाका ट्रिगर, बीमाका सम्भावित ट्रिगर तथा पूर्वसूचना प्रणालीका मापन यन्त्रले वर्षा र नदीको सतह मापन गरिरहेका थिए। तर ती उपकरणले पहाडी भूभागमा विकसित भइरहेको वास्तविक जोखिम पहिचान गर्न सकेनन्।
‘हामीसँग भएका हरेक उपकरणले वर्षा र नदीको सतह पढे। पानी परेन,’ उनले भने।
अर्थमन्त्री वाग्लेले नेपाल तथ्याङ्कविहीन देश नभएको स्पष्ट पार्दै समस्या तथ्याङ्क र निर्णयबीचको अन्तरमा रहेको बताए।
‘नेपाल तथ्याङ्क नभएको देश होइन। मैले औँल्याउन चाहेको अन्तर देश र उसको तथ्याङ्कबीचको होइन, तथ्याङ्क र निर्णयबीचको हो,’ उनले भने।
उनले मौसम तथा जलवायु अवलोकनलाई वित्तीय जोखिम व्यवस्थापनको आधारसँग जोड्नुपर्नेमा जोड दिए। उनका अनुसार अवलोकन नै हरेक वित्तीय उपकरणको आधार हो।
‘तथ्याङ्क छैन भने ट्रिगर छैन। ट्रिगर छैन भने प्यारामेट्रिक बीमा छैन। बीमा छैन भने पूर्वव्यवस्थित वित्त छैन,’ वाग्लेले भने, ‘छ त केवल ऋणका रूपमा आउने वित्त। महँगो ऋण।’
उनले जलवायुजन्य विपद्का लागि नेपाल पहिले नै एउटा ‘प्रयोगशाला’ बनिसकेको बताए। अब नेपालले विपद्बाट पाठ सिकेर वैज्ञानिक आधारमा जोखिम मापन र वित्तीय संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ।
‘यस प्रकारको जोखिमका लागि नेपाल पहिले नै प्रयोगशाला भइसकेको छ। प्रश्न यो हो कि नेपाल वैज्ञानिक पनि बन्नेछ कि छैन,’ उनले भने।
जलवायु परिवर्तनका कारण विश्व थप जोखिमपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले सबैभन्दा कम जोखिम थेग्न सक्ने देशहरू नै पर्याप्त तथ्याङ्क र पूर्वसूचना प्रणालीको अभावका कारण बढी जोखिममा रहेको बताए।
‘तातो हुँदै गएको विश्व अन्धकारमा उडिरहेको छ, र त्यसको भार सबैभन्दा कम थेग्न सक्ने देशहरू नै सबैभन्दा बढी अन्धकारमा उडिरहेका छन्,’ वाग्लेले भने।
उनले मौसम तथा जलवायु अवलोकन प्रणालीको आधारभूत संरचनामा लगानी बढाउनुपर्नेमा जोड दिए। यस्तो लगानीबाट प्राप्त तथ्याङ्कका आधारमा वित्तीय उपकरण, बीमा, पूर्वसूचना तथा जोखिम व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ।
‘आधार तहमा लगानी गरौँ। त्यसमाथि हामी मिलेर निर्माण गरौँ, ताकि यो मञ्चमा आउने अर्को अर्थमन्त्रीसँग वर्षा मात्र होइन, पहाडलाई पनि पढ्ने ट्रिगर होस्,’ उनले भने।
नेपालले सन् २०२६ मा भोगेका विपद्का घटनाबाट प्राप्त पाठलाई विश्वव्यापी जलवायु जोखिम न्यूनीकरणमा उपयोग गर्नुपर्ने बताउँदै वाग्लेले नेपालले सिकेको पाठ अरू देशले पुनः दोहोर्याएर सिक्न नपरोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
‘नेपालले सन् २०२६ मा सिकेका पाठलाई सार्थक बनाऔँ, ताकि कुनै पनि देशले ती पाठ फेरि सिक्नु नपरोस्,’ उनले भने।
प्रकाशित मिति : November 11, 2026 at 10:10 am










