नुवाकोटमा कांग्रेस नेतासहित ६ जना जुवा खालबाट समातिए
२५ कात्तिक, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट तास र एक लाख १९ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मंगलबार (२०८३ असोज २४ गते) राति करिब १० बजे विदुर नगरपालिका–२ लोकतान्त्रिक चोकस्थित सुभद्रा अधिकारीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरीले उक्त स्थानमा पुगेर जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई फेला पारेको हो। उनीहरूको साथबाट ३२९ पत्ता तास र नगद १ लाख १९ हजार ३४० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा विदुर नगरपालिका–२ निवासी ३२ वर्षीया सुभद्रा अधिकारी, ५६ वर्षीय बासु सापकोटा, ४६ वर्षीय शालिग्राम अर्याल, ५३ वर्षीय निरबहादुर बस्नेत, ५४ वर्षीय कृष्णकुमार रावल र विदुर नगरपालिका–४ निवासी ६५ वर्षीय रामकृष्ण गिरी रहेका छन्। पक्राउ परेका मध्ये सापकोटा कांग्रेसका नेता हुन ।
प्रहरीले पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई जुवाताससम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

प्रकाशित मिति : November 11, 2026 at 7:40 am










