२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

आइएमई लाइफको नयाँ बीमा योजना, बीमितले पाउनेछन् लोयल्टी बोनस

२२ कात्तिक, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लोयल्टी बोनससहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।कम्पनीले लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गते उक्त बीमा योजना सार्वजनिक गरेको हो । यो योजनाले बचत र जीवन सुरक्षालाई एकसाथ समेट्नुका साथै बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसको सुविधा प्रदान गर्नेछ ।

यस योजनाअन्तर्गत बीमा अवधि समाप्त हुँदा बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस र लोयल्टी बोनस एकमुष्ट प्राप्त गर्नेछन् । त्यस्तै, बीमा अवधिभित्र बीमितको मृत्यु भएमा नियमानुसार बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

योजनामा सहज बीमाशुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनस, बीमालेख धितोमा कर्जा सुविधा, प्रचलित कानुनअनुसार कर छुट र परिपक्वतामा आकर्षक लाभजस्ता सुविधा रहेका छन् ।

यो योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन् । यसको बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, पूरक करार सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ, बीमाशुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी र काजक्रिया खर्चजस्ता थप सुविधा पनि उपलब्ध हुनेछन् ।योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले दीर्घकालीन बचत र जीवन सुरक्षासँगै बीमितलाई थप लाभ प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताए ।

उनले बीमालेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै जीवन बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न यस योजनाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कम्पनीले यस योजनामार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्नुका साथै जीवन बीमाको पहुँच विस्तार र बीमा क्षेत्रको दिगो विकासमा योगदान पुग्ने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : November 8, 2026 at 1:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/