लक्ष्मीपूजाको साँझ १७०० मेगावाट बिजुलीको माग हुने अनुमान
२२ कात्तिक, काठमाडौं । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी बिजुली खपत हुने दिन ‘लक्ष्मीपूजा’को साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ । तिहारको यस प्रमुख दिनमा हुने उच्च मागलाई धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको समयमा देशको कुल विद्युत उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन झन्डै ८०० मेगावाट बढी हुने भएकाले यस वर्ष लक्ष्मीपूजा तथा तिहारभरि विद्युत आपूर्ति सहज र भरपर्दो रहने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।
विद्युत्को माग र आपूर्तिलाई सन्तुलित राख्न तथा कुनै पनि प्राविधिक समस्या आउन नदिन प्राधिकरणले विशेष व्यवस्थापन गरेको जनाएको छ। प्राधिकरणका अनुसार २४ सै घण्टा प्राविधिक टोली परिचालन गरिएको छ।

उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै कुनै समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ।
त्यसैगरी, उच्चस्तरीय समन्वय र अनुगमन भइरहेको प्राधिकरणले जनाएको छ। कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको छ।
साथै, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा प्रादेशिक कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठक गरी जनशक्ति परिचालन र प्रणालीको निगरानीमा समन्वय गरिएको छ। आज साँझ ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कार्यकारी निर्देशक श्रेष्ठ स्वयं केन्द्रीय कमान्ड सेन्टरमा बसेर विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिने तयारी छ।
मर्मतसम्भारलाई पनि प्राधिकरणले तीव्रता दिएको जनाएको छ। प्राधिकरणका अनुसार प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका काम तत्काल सम्पन्न गर्न निर्देशन दिइएको छ।
प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध भएमा तत्काल गुनासो सुनुवाइ गर्ने व्यवस्था मिलाएको छ। उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउन र प्रभावकारी व्यवस्थापन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।
पर्व अवधिभर विद्युत्को माग तथा आपूर्तिको अवस्थाको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय रहने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले पर्वको समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न आम उपभोक्तालाई विशेष आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न सुझाइएको छ।
त्यसैगरी, विद्युत् चुहावट वा तारमा कुनै समस्या देखिएमा जोखिम मोलेर आफैँ मर्मत नगर्न र दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ। विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा तत्काल नजिकैको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।
प्रकाशित मिति : November 8, 2026 at 11:59 am










