डलर देखाएर ठग्ने सुजन तामाङ पक्राउ : प्रहरीमाथि चक्कु प्रहार गरेपछि प्रतिवादमा गोली
२० कात्तिक, काठमाडौँ । सस्तो मूल्यमा अमेरिकी डलर सटही गरिदिने प्रलोभन देखाएर लुटपाट तथा ठगी गर्दै आएका आपराधिक समूहका नाइके सुजन तामाङ काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–८ बस्ने २८ वर्षीय तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि चेतावनी स्वरूप हवाई फायर र घुँडा मुनि १ राउन्ड गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीमाथि चक्कु प्रहार र घुँडा मुनि गोली
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको संयुक्त प्रहरी टोलीले २०८३ कात्तिक १९ गते बेलुकी करिब १८:४५ बजे तामाङलाई गोकर्णेश्वर नगरपालिका–३ गाम्चास्थित सडक खण्डमा फेला पारेको थियो। नियन्त्रणमा लिन खोज्दा तामाङले प्रहरी टोलीमाथि नै चक्कु प्रहार गर्दा एक जना प्रहरी घाइते भएका थिए।
चक्कु प्रहारपछि चेतावनी स्वरूप पेस्तोलबाट १ राउन्ड हवाई फायर गर्दा समेत नियन्त्रणमा नआएपछि प्रहरीले घुँडा मुनि १ राउन्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिएको हो। घाइते तामाङको हाल राष्ट्रिय ट्रमा सेन्टरमा प्रहरी निगरानीमा उपचार भइरहेको छ।
असोजमा १६ लाख ठगी गरी जंगलतर्फ फरार
तामाङको समूहले २०८३ असोज २२ गते विभिन्न व्यक्तिहरूलाई फोन गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने भन्दै ५० डलरको सक्कली नोट देखाएर विश्वास दिलाएका थिए। त्यसको भोलिपल्ट (असोज २३ गते) गोकर्णेश्वर नगरपालिका–१२ सुनटारमा बोलाई दुई जना व्यक्तिबाट ८–८ लाख गरी कुल रु. १६ लाख रुपैयाँ ठगी तथा लुटपाट गरेर उनीहरू जंगलतर्फ फरार भएका थिए।

ठगीको अनोठो शैली: ‘लाटो’ को अभिनय र कागजको पोको
अनुसन्धानका क्रममा यो समूहको ठगी गर्ने अनोठो शैली खुलस्त भएको छ। उनीहरूले काठमाडौँका विभिन्न गेष्ट हाउस, रेस्टुरेन्ट, सुन पसल, हार्डवेयर, मेडिकल, डेरी र होलसेल पसलका होडिङ बोर्डबाट नम्बर सङ्कलन गर्ने र सञ्चालकहरूसँग चिनजान भएजस्तै गरी फोन गर्ने गर्थे। आफूलाई समस्या परेको भन्दै विदेशी मुद्रा सस्तोमा साटिदिने प्रलोभन दिन्थे।
सम्पर्कमा आएका व्यक्तिलाई विश्वास दिलाउन समूहका एक सदस्यले ‘लाटो’ (सोझो) को भूमिका निर्वाह गर्थे र सुरुमा नमुनाका रूपमा सक्कली अमेरिकी डलर साट्न दिन्थे। तर रकम साट्ने बेला सिसिटिभीको पहुँच नभएका नाङ्ग्ले भारे, लप्सीफेदी, सुन्दरीजल, तारेभीर, शिवपुरी र नागार्जुन जस्ता एकान्त जंगल क्षेत्रमा बोलाउने गर्थे। त्यसपछि रुमालमा डलरको आकारमा काटिएका सेतो कागजका पाना वा रु. २० का नेपाली नोटहरू राखी अगाडि र पछाडि ५, १० वा ५० का सक्कली अमेरिकी डलर राखेर बनाइएको पोको दिई रकम लुटेर फरार हुने गर्थे। ठगीपछि हुलिया र मोटरसाइकलको नम्बर प्लेट फेर्ने तथा चोरीका सिमकार्ड र मोबाइल प्रयोग गर्ने उनीहरूको शैली थियो।
आठ पटक पक्राउ परेका ‘सिरियल’ अपराधी
तामाङ यसअघि पनि डलर देखाई ठगी तथा लुटपाट गरेको अभियोगमा आठ पटक पक्राउ परी कानुनी कारबाही भोगिसकेका व्यक्ति हुन्। उनीविरुद्ध वृत्त स्वयम्भूबाट ४ पटक, परिसर भक्तपुर, इ.प्र.का. बाह्रबिसे, वृत्त महाराजगञ्ज, वृत्त बौद्ध र वृत्त सातदोबाटोबाट १–१ पटक गरी ठगी मुद्दा चलिसकेको छ। पछिल्लो समय उनले स्वयम्भू, बुढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाई रकम लुटपाट गर्ने कार्यमा समेत संलग्न रहेको पाइएको छ।
१ केजी नक्कली सुन र कागजका बन्डल बरामद
प्रहरीले तामाङको कब्जाबाट ठगीमा प्रयोग हुने मोटरसाइकल, नक्कली नम्बर प्लेट, १ केजी नक्कली सुनको ढिक्का, डलरको आकारमा काटिएका सेतो कागजका बन्डल, रु. २० का ४ बन्डल नेपाली रुपैयाँ, कागजको बन्डलमा तल-माथि राखिएका ५-५ को अमेरिकी डलर र विभिन्न कम्पनीका मोबाइलहरू बरामद गरेको छ। प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलासका साथै थप अनुसन्धान जारी राखेको छ ।
प्रकाशित मिति : November 6, 2026 at 2:33 pm










