प्रवासी नेपाली मञ्च : ओलीको नाममा खडा गरिएको प्यानल अधिवेशनमै सोत्तर
२० कात्तिक, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा तयार गरिएको भनिएको प्यानल प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनमा सोत्तर भएको छ । काठमाडौंको कार्की बैंक्वेटमा सम्पन्न नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा ओलीको निर्देशनमा उम्मेदवार बनाइएको भनिएका तीनै जना उम्मेदवार पराजित भएका हुन ।
अधिवेशनमा अध्यक्ष ओलीको निर्देशनमा गुन्डुबाट उम्मेदवारको सूची पठाइएको र उनीहरूलाई निर्वाचित गराउन आग्रह गरिएको विवरण सार्वजनिक भएको छ । तर प्रतिनिधिहरूले मतदानमार्फत उक्त सूची अस्वीकार गर्दै फरक उम्मेदवारलाई नेतृत्वमा छानेका छन् ।
ओलीको निर्देशनमा उम्मेदवार बनाइएको भनिएका चानक पोखरेल, सन्तोष भट्टराई र सुरेश केसी क्रमशः उपाध्यक्ष, सचिव र उपसचिव पदमा पराजित भए । उपाध्यक्षमा कतारका चानक पोखरेलले जम्मा ७३ मत प्राप्त गर्दा दुबईका टकबहादुर गुरुङले ११३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

त्यस्तै, सचिवमा जर्मनीका सन्तोष भट्टराईले ८५ मत पाउँदा बेलायतका रामशरण सिम्खडाले ९८ मत प्राप्त गर्दै बाजी मारे। उपसचिवमा जापानका सुरेश केसीले ५८ मत मात्रै प्राप्त गरे भने अमेरिकाका कृष्णप्रसाद लामिछानेले २११ मत प्राप्त गर्दै निर्वाचित भएका छन । लामिछाने उपसचिवमा सर्वाधिक मत ल्याउने उम्मेदवार बनेका छन् ।
अधिवेशनमा अध्यक्ष पदमा भने अमेरिकाका प्रभु थापा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, उपसचिवमा इजरायलकी ज्योति शर्मा पनि सर्वसम्मत निर्वाचित भएकी छन्।
ओलीको समर्थन रहेको भनिएको सूची र प्रतिनिधिहरूको मतबीच देखिएको यो अन्तरलाई अधिवेशनमा सहभागी प्रतिनिधिहरूले नेतृत्व चयनमा स्वतन्त्र निर्णयको संकेतका रूपमा व्याख्या गरेका छन् ।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन २०८३ कात्तिक १८ र १९ गते काठमाडौंमा सम्पन्न भएको हो । अधिवेशनबाट प्रतिनिधिहरूले मतदान र सर्वसम्मत प्रक्रियामार्फत नयाँ अन्तर्राष्ट्रिय कमिटी चयन गरेका छन्।
प्रकाशित मिति : November 6, 2026 at 1:05 pm










