२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

एमाले नेता एवं विवादित सेयर कारोबारी अग्रवाल १० लाख धरौटीमा छुटे

१९ कात्तिक,  काठमाडौं । एमाले नेता एवं विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल प्रहरी हिरासतबाट छुटेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार आफ्नै निवासबाट पक्राउ गरेका अग्रवाल अदालतको आदेशअनुसार १० लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार रिहा भएका हुन् ।

सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपम शमशेर जबराले अग्रवाललाई अदालतमा विचाराधीन पुरानै मुद्दामा उपस्थित गराउन पक्राउ गरिएको र धरौटी बुझाएपछि रिहा भएको पुष्टि गरेका छन्।  ‘अदालतमा विचाराधीन मुद्दामा पेस गर्न बुधबार पक्राउ गरेका थियौँ। अदालतको आदेशबमोजिम १० लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार रिहा हुनुभएको छ,’ जबराले भने।

उनका अनुसार अग्रवालले बुधबार प्राविधिक कारणले अदालतले मागेको धरौटी बुझाउन नसकेपछि हिरासतमा बस्नुपरेको थियो । बिहीबार धरौटी बुझाएसँगै उनी रिहा भएका हुन् । सेयर बजारमा कृत्रिम मूल्यवृद्धि, भ्रामक सूचना प्रवाह र लगानीकर्तालाई ठगी गरेको आरोपमा अग्रवाल पटक–पटक प्रहरी अनुसन्धानमा तानिँदै आएका व्यक्ति हुन् । उनीमाथि सेयर कारोबारमा अनियमितता गरेकोदेखि लगानीकर्ताको करोडौँ रुपैयाँ हिनामिना गरेकोसम्मका आरोप छन् ।

२०८२ साउनमा ठगी तथा विश्वासघातको आरोपमा उनलाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरिएको थियो । त्यसबेला एक लगानीकर्ताले सेयर उपलब्ध गराउने भन्दै अग्रवालले आफूसँग ६ करोड ४५ लाख रुपैयाँभन्दा बढी रकम लिएको तर न सेयर दिएको न रकम फिर्ता गरेको आरोप लगाएका थिए । विभिन्न लगानीकर्ता तथा ब्रोकर कम्पनीसँग करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोपसमेत उनीमाथि सार्वजनिक भएको थियो ।

त्यसपछि २०८२ पुस ४ गते सीआईबीले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अग्रवाललाई पुनः पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरेर भ्रामक सूचना सार्वजनिक गर्ने र त्यसपछि उच्च मूल्यमा सेयर बिक्री गर्ने गतिविधिमा उनी संलग्न रहेको औँल्याएको थियो। उक्त कारोबारबाट अग्रवालले करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ गैरकानुनी नाफा आर्जन गरेको आरोप छ।

त्यस्तै, आफन्त तथा सम्बन्धित संस्थाका नाममा रहेका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खातामार्फत वास्तविक स्वामित्व परिवर्तन नभई आपसी खरिद–बिक्री गरेको र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोप पनि उनीमाथि लागेको छ।

२०८३ भदौमा सीआईबीले अनुसन्धानका क्रममा अग्रवाल, उनका परिवारका सदस्य तथा व्यावसायिक साझेदारसँग सम्बन्धित बैंक खाता र सेयर खातासमेत रोक्का गरेको विवरण सार्वजनिक भएको थियो। सेयर बजारमा कृत्रिम मूल्यवृद्धि, झुटो कारोबार तथा सम्भावित सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा समेत उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ।

यसरी पटक–पटक विभिन्न कसुरको अनुसन्धानमा तानिएका एमाले नेता अग्रवाल पछिल्लो पटक भने अदालतमा विचाराधीन मुद्दामा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

प्रकाशित मिति : November 5, 2026 at 7:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/