बैंक तथा वित्तीय संस्थामा ‘साइबर स्क्याम प्रतिकार्य केन्द्र ’का लागि सम्पर्क अधिकृत तोक्न राष्ट्र बैंकको निर्देशन
१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रसँग समन्वय गर्न बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै सम्पूर्ण विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा ई–सेवा र आईएमई खल्तीबाहेकका भुक्तानी सेवा प्रदायकलाई पत्राचार गर्दै सम्पर्क अधिकृतको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।
नेपाल सरकार, गृह मन्त्रालयको २०८३ असोज २३ गतेको निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र सञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ अनुसार यस्तो व्यवस्था गर्न लागिएको हो। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोबाट केन्द्रको कार्य सञ्चालनमा समन्वय, सहकार्य तथा सहजताका लागि सम्पर्क अधिकृत माग भई आएको राष्ट्र बैंकले जनाएको छ।
उक्त केन्द्रमा वाणिज्य बैंकहरू, ई–सेवा र खल्ती भौतिक रूपमै समन्वयमा रहने भएकाले तीबाहेकका विकास बैंक, वित्त कम्पनी तथा अन्य भुक्तानी सेवा प्रदायकहरूबाट समन्वयका लागि सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई साइबर अपराध अनुसन्धान र तत्काल प्रतिकार्यका लागि २४सै घण्टा उपलब्ध हुने सम्पर्क अधिकृतको नाम, थर, फोन नम्बर र कार्यालयको इमेल ठेगाना विभागको आधिकारिक इमेलमा तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : November 5, 2026 at 5:53 pm










