१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

बाढीमा बेपत्ताको बीमा मागदाबी गर्न मृत्यु दर्ता नचाहिने, प्राधिकरणले जारी गर्यो ८ बुँदे निर्देशन

१७ कात्तिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई  ८ बुँदे निर्देशन जारी गरेको छ। परिपत्रमार्फत २०८३ भदौ १० गते ल्हेन्दे–खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित भएका बीमितहरूको हितलाई ध्यानमा राख्दै मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी प्रक्रियामा देहायबमोजिमको सरलीकृत व्यवस्था लागू गर्न निर्देशन दिइएको हाे ।

निर्देशनमा जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई दाबी भुक्तानी प्रक्रियालाई झन्झटमुक्त बनाउनुका साथै प्रिमियम र कर्जाको किस्ता तिर्न ६ महिनाको अतिरिक्त समय उपलब्ध गराएको छ।

यस्तो छ प्राधिकरणले जारी गरेका ८ बुँदे निर्देशनहरू:

१. बाढीका कारण मृत्यु भएका बीमितको दाबी भुक्तानीका लागि दिइने निवेदनमा बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर र दाबीकर्तासँगको नाता खुलाए पुग्ने

२.  दाबीकर्ताको पहिचान र नाता प्रमाणीकरणका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, राहदानी वा लालपुर्जा पेस गर्न सकिने।

३. मृत्यु वा बेपत्ता पुष्टि गर्न स्थानीय तहको सिफारिस वा अदालतको न्यायिक घोषणालाई आधिकारिक मान्नुपर्ने।

४. बाढीका कारण सक्कल बीमालेख हराएको वा नष्ट भएर उपलब्ध गराउन नसकिएको अवस्थामा बीमा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपि बीमालेखलाई आधार मानेर दाबी भुक्तानी गर्नुपर्ने।

५. बीमितले माग गरेमा कम्पनीले बिनाकुनै शुल्क बीमालेखको प्रतिलिपि उपलब्ध गराउनुपर्ने।

६. कम्पनीका कागजात नष्ट भएको अवस्थामा बीमित र अभिकर्ताले विवरण दिएर अभिलेख अद्यावधिक गर्न सघाउनुपर्ने।

७. बीमाशुल्क वा कर्जाको किस्ता तिर्न नसक्नेहरूलाई ६ महिनासम्म कुनै ब्याज वा जरिवाना नलिई म्याद थप गर्नुपर्ने।

८.  बेपत्ता बीमितको हकमा हकवालाले पछि जीवित भेटिए कानुनबमोजिम सजाय भोग्न तयार रहेको स्वघोषणा गरेपछि मृत्यु दाबी भुक्तानी दिनुपर्ने।

प्रकाशित मिति : November 3, 2026 at 12:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/