वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङकी आशिकासहित पाँच जना पक्राउ
१७ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा, काठमाडौं महानगरपालिका-३२ बस्ने उदयपुर घर भएका ४६ वर्षीय बिष्णु खत्री, काठमाडौं महानगरपालिका-१ बस्ने सिन्धुली घर भएका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, काठमाडौं टोखा नगरपालिका-६ बस्ने गोरखा घर भएका ३८ वर्षीय राजेश बराम र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन् ।
पक्राउ मध्ये आशिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिष्णुले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, दिनेशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, राजेशले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ५० हजार रूपैयाँ र छिरिङले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आशिकालाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार, बिष्णुलाई काठमाडौं महानगरपालिका-३२ बाट र दिनेशलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार, राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट शनिबार तथा छिरिङलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति : November 3, 2026 at 11:43 am










