सीमा सुरक्षामा सशस्त्र प्रहरीको कडाइः सात महिनामै १ अर्ब ३३ करोडको अवैध सामान बरामद
१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेयता सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ। सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारी नीतिअनुरूप सशस्त्र प्रहरीले अवैध ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको हो।
सशस्त्र प्रहरीका अनुसार २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्मको अवधिमा १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको छ। यस अवधिमा अवैध हातहतियारसहित आठ जना पक्राउ परेका छन्। उनीहरूबाट १७ नाल अवैध हातहतियार बरामद गरिएको छ।
लागूऔषध नियन्त्रणतर्फ पनि प्रहरीले उल्लेख्य कारबाही गरेको छ। लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न प्रकारका ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्रममा जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन्। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन्।
सीमा अतिक्रमण नियन्त्रण र सरसफाइमा पनि सक्रियता
सशस्त्र प्रहरीले सीमा अतिक्रमण नियन्त्रण तथा दशगजा क्षेत्रको व्यवस्थापनमा समेत सक्रियता बढाएको छ। यस क्रममा दशगजा क्षेत्रका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ। त्यस्तै, १७ स्थानमा अतिक्रमित ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ।
सीमा क्षेत्रलाई व्यवस्थित र स्वच्छ बनाउने उद्देश्यले २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ।सीमावासीसँगको सम्बन्ध सुदृढ गर्दै सुरक्षा तथा जनचेतना अभिवृद्धि गर्न यस अवधिमा २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएका छन्।
त्यसैगरी, १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना लाभान्वित भएका छन्। पर्यटकलाई आवश्यक सहयोग र सुरक्षा सेवा प्रदान गर्न स्थापना गरिएका १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जनाले सेवा लिएका छन्।
प्रकाशित मिति : November 2, 2026 at 5:36 pm










