काठमान्डुले कर्णालीलाई चार विकेटले हरायो
१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हाे ।
कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य पछ्याएको काठमान्डुले १९ ओभर ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । काठमान्डुका लागि रासिद खानले अर्धशतक प्रहार गरे । उनले ३४ बल खेल्दै ३ चौका र २ छक्काको मदतमा सर्वाधिक ५० रन बनाए । यस्तै कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनको योगदान गरे ।
आदिल आलमले २० तथा डेभिड वार्नरले १६ रन जोडे । जहानदाद खानले अविजित २२ रनको योगदान दिए । बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामी र हुसेत तलतले २–२ विकेट लिए । मार्क वाट र नन्दन यादवले १–१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे । पवन सर्राफले २३ बलमा २ छक्का मदतमा अविजित ३० रन जोडे । गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको योगदान गरे ।
प्रकाशित मिति : November 2, 2026 at 4:39 pm










