१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

जिज्ञानको जापानको राजदूत हुने सपनामा पहिरो

१६ कात्तिक, काठमाडौं । जापानका लागि नेपाली राजदूतमा सिफारिस गरिएका जिज्ञानकुमार थापाको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएको छ । सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने क्रममा थापाको विषयमा गम्भीर विवाद उत्पन्न भएपछि समितिले उनको नाम सर्वसम्मत रूपमा अस्वीकृत गर्ने तयारी गरेको छ ।

समितिका सदस्य र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले थापालाई नाम फिर्ता लिन अनुरोध गरेका छन । उनको नाम अस्वीकृत गर्न सोमबार बैठक बोलाइएको छ । लामो समयदेखि जापानमा बस्दै आएका र ‘जापान सपना, संघर्ष र सफलता’ नामक पुस्तकका लेखक समेत रहेका थापालाई सरकारले राजदूत पदका लागि उपयुक्त पात्रका रूपमा अघि सारेको थियो । तर, संसदीय सुनुवाइ प्रक्रिया सुरु भएसँगै उनीमाथि विभिन्न गम्भीर आरोपहरू लागेका थिए ।

थापामाथि जापानको स्थायी आवासीय अनुमति (पीआर), नागरिकता र त्यहाँ रहेको उनको सम्पत्तिको कानुनी हैसियतलाई लिएर उजुरीहरू दर्ता भएका थिए । नेपालको कानुनी व्यवस्था अनुसार विदेशी मुलुकको पीआर वा नागरिकता लिएका व्यक्तिहरू कूटनीतिक र विशिष्ट पदका लागि योग्य मानिँदैनन् ।

संसदीय सुनुवाइ समितिले थापामाथि लागेका यी आरोपहरू र विवादित विषयमा छानबिन गर्न उनको नाम केही समयका लागि ‘होल्ड’ (स्थगित) गरेको थियो। सो क्रममा आवश्यक कागजात र प्रमाणहरूको अध्ययन गर्दा उनी पदका लागि योग्य नदेखिएको ठहर गर्दै समितिले अन्ततः उनको नाम अस्वीकृत गरेको हो।

कूटनीतिक क्षेत्रका जानकारहरूका अनुसार, सरकारले राजदूत सिफारिस गर्दा व्यक्तिको पृष्ठभूमि र कानुनी हैसियतबारे पर्याप्त गृहकार्य नगर्दा यस्तो अवस्था सिर्जना भएको हो। थापाको नाम अस्वीकृत भएसँगै अब सरकारले जापानका लागि नयाँ नाम सिफारिस गर्नुपर्ने भएको छ।

प्रकाशित मिति : November 2, 2026 at 2:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/