१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

धान सिजनमा प्रमुख नहर पूर्ण सञ्चालन, किसानका खेतसम्म पानी

१६ कात्तिक, काठमाडौं । मनसुनको धान सिजनमा मुलुकका प्रमुख सिँचाइ प्रणाली पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले किसानका खेतसम्म पानी पुर्‍याउने कामलाई प्राथमिकतामा राखेको जनाएको छ।

विभागका अनुसार सुनसरी मोरङ सिँचाइ आयोजनाले कुल ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सेवा पुर्‍याइरहेको छ। त्यसमध्ये ५५ हजार हेक्टर क्षेत्रमा सतही सिँचाइ सुविधा उपलब्ध छ। त्यस्तै राजापुर सिँचाइ व्यवस्थापन कार्यालयमार्फत १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा प्रवाह भइरहेको छ।

 कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनामा पनि धान बालीका लागि नहर निरन्तर सञ्चालनमा राखिएको छ। विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार धान सिजनमा किसानलाई पानी उपलब्ध गराउन निर्माणसम्बन्धी काम बाली भित्र्याएपछिको अवधिमा केन्द्रित गर्ने गरी तालिका मिलाइएको छ।

उनले बाली सिजनमा सिँचाइ सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले किसानलाई पानी आपूर्तिलाई पहिलो प्राथमिकतामा राखिएको बताए। यसैबीच विभागले विभिन्न क्षेत्रमा नयाँ सिँचाइ सुविधा पनि विस्तार गरेको जनाएको छ। पोखरा कास्की अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर अन्तर्गत ३ हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा थपिएको छ। सिक्टा र बबईसहित भदौ मसान्तसम्म करिब २०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ सेवा विस्तार भएको विभागले जनाएको छ।

प्रकाशित मिति : November 2, 2026 at 2:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/