१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

समाचार कक्षमा पसेर पत्रकार पक्राउ गर्ने प्रहरीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि धरपकड र पक्राउ गर्ने प्रहरी तथा त्यसका लागि निर्देशन दिने अधिकारीमाथि अनुसन्धान गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता जगदिश खरेलले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको जानकारी दिएका हुन्।

प्रवक्ता खरेलले समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गर्ने कार्य गलत भएको उल्लेख गर्दै प्रहरी कसको आदेशमा, किन र कसरी सञ्चारगृहमा प्रवेश गरेको हो भन्ने विषयमा सत्यतथ्य छानबिन हुनुपर्ने बताए।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि रास्वपा दृढ छ,’ उनले भने, ‘सञ्चारगृहमा प्रहरी कसको आदेशमा, किन र कसरी प्रवेश गर्‍यो भन्नेबारे सत्यतथ्य छानबिन हुनुपर्छ। दोषी जोसुकै भए पनि शीघ्र कानुनी दायरामा ल्याउन पार्टीले सरकारलाई स्पष्ट निर्देशन दिएको छ।’

रास्वपाले घटनामा प्रत्यक्ष संलग्न प्रहरी कर्मचारीसँगै पत्रकारलाई पक्राउ गर्न निर्देशन दिने अधिकारीको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पार्टीको निर्णय छ।

प्रवक्ता खरेलले घटनालगत्तै रास्वपाले विरोध जनाएको र प्रधानमन्त्री कार्यालयबाट समेत घटनामा कुनै संलग्नता नरहेको स्पष्ट भइसकेको उल्लेख गरे।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सञ्चारगृहको निर्बाध सञ्चालन सुनिश्चित गर्न सरकारले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्नुपर्ने रास्वपाको निष्कर्ष छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रहरीको पीसीसी बैठक राखेर सोही दिन मिडियाहरूको नाममा धक्कीपूर्ण विज्ञप्ति जारी गराएका थिए। शुक्रबार उनैको निर्देशनमा प्रहरीले सञ्चारगृहमा प्रवेश गरेर पत्रकारहरूमाथि धरपकड गर्ने र पक्राउ गर्ने काम गरेको थियो । पछि प्रधानमन्त्रीको निर्देशनपछि उनीहरूले पत्रकार रिहा गरेका थिए ।

प्रकाशित मिति : October 31, 2026 at 8:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/