दानबहादुर कार्कीलाई सूर्य थापाको सन्देश : पत्रकार पक्राउ गरेर पद र दर्ज्यानी जोगिँदैन
१४ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसांसद सूर्य थापाले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको आलोचना गर्दै पत्रकार पक्राउ गरेर र शक्तिको दुरुपयोग गरेर पद तथा दर्ज्यानी जोगाउन नसकिने बताएका छन्।
सञ्चारगृहमा प्रहरी पुगेर पत्रकारलाई पक्राउ गर्ने र दुर्व्यवहार गर्ने घटनाप्रति सामाजिक सञ्जालमार्फत लगातार विरोध जनाउँदै थापाले प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
‘आईजीपी कार्कीप्रतिको धारणा नै बदलियो। उनी यस हदसम्म पतन हुनेछन् भन्ने सोचिएको थिएन। पत्रकार पक्रेर र शक्तिको दुरुपयोग गरेर पद र दर्ज्यानी किमार्थ जोगिँदैन,’ थापाले लेखेका छन्।

मिडिया हाउसमा पुगेर पक्राउपूर्जीबिना पत्रकार पक्राउ गर्ने प्रवृत्तिलाई उनले ‘जंगलीराज’को संज्ञा दिएका छन्। लोकतान्त्रिक व्यवस्थामा प्रेसमाथि यस प्रकारको व्यवहार स्वीकार्य नहुने उल्लेख गर्दै थापाले प्रहरी नेतृत्वले कानुनी शासनका सीमासमेत उल्लंघन गर्न थालेको टिप्पणी गरेका छन्।
उनले सञ्चारगृहमा प्रहरी पुगेर पत्रकारलाई नियन्त्रणमा लिने घटनालाई प्रधानमन्त्रीको जानकारीबिनै भएको भनेर प्रस्तुत गरिएको प्रहरीको भनिएको विवरणमाथि पनि प्रश्न उठाएका छन् । प्रहरी संगठनले प्रधानमन्त्री कार्यालयमा पठाएको भनिएको विवरणमा प्रहरीविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका सामग्रीबारे तथ्य तथा कानुनी आधार बुझ्न साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको उल्लेख रहेको थापाको भनाइ छ।
थापाले पत्रकारलाई समाचारको स्रोत खुलाउन बाध्य पार्न नसकिने भन्दै प्रेस स्वतन्त्रता र कानुनी व्यवस्थाको सम्मान गर्न प्रहरी नेतृत्वलाई सचेत गराएका छन् ।
‘समाचारको स्रोत बताउन पत्रकार बाध्य छैनन् । यति सामान्य अभ्यास र कानुनी व्यवस्थाको सम्मान नगर्ने व्यक्तिलाई लोकतान्त्रिक व्यवस्थामा नागरिक सम्मान प्राप्त हुनसक्दैन,’ उनले लेखेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीप्रति यसअघि सहानुभूति रहेको उल्लेख गर्दै थापाले सञ्चारगृह र पत्रकारमाथि गरिएको व्यवहारलाई भने खेदजनक र निन्दनीय बताएका छन् । उनले प्रहरी नेतृत्वलाई समयमै सचेत हुन आग्रहसमेत गरेका छन् ।
थापाले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदै पक्राउपूर्जी, आवश्यक कानुनी प्रक्रिया, प्रहरीको परिचय र जिम्मेवारी स्पष्ट गरेर मात्रै कानुनअनुसार प्रहरी परिचालन हुनुपर्ने बताएका छन् । मौखिक आदेशका आधारमा प्रहरी परिचालन भएको भन्दै जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको तर्क छ।
प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र प्रहरीको जवाफदेहितासँग जोडिएको यस घटनामा थापाका टिप्पणीले प्रहरी नेतृत्वमाथि राजनीतिक वृत्तबाट समेत प्रश्न उठिरहेको संकेत गर्छन् ।


प्रकाशित मिति : October 31, 2026 at 10:55 am










