१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

१३ कात्तिक, काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड रुपैयाँभन्दा बढी हानि-नोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना अधिकारी तथा कर्मचारीहरू पक्राउ परेका छन्।

संस्थानलाई गैरकानुनी रूपमा प्रत्यक्ष आर्थिक क्षति पुर्‍याई संगठित रूपमा रकम हिनामिना गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई आज विभिन्न स्थानबाट पक्राउ गरेको हो।

प्रारम्भिक छानबिन अनुसार पूर्व-नियोजित योजना र मिलेमतोमा सङ्गठित सञ्जाल खडा गरी प्रतिवादीहरूले कूल रु. १२,१३,४३,५३० (बाह्र करोड तेह्र लाख त्रिचालीस हजार पाँच सय तीस) गैरकानुनी लाभ लिएको पुष्टि भएको छ। काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ को ‘आपराधिक विश्वासघात’ र ‘सङ्गठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने प्रतिवादीहरू:

१. सञ्जिव झा (४५ वर्ष): तत्कालीन महाप्रबन्धक तथा हाल डीडीसी लैनचौरको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुख (पक्राउ स्थान: लैनचौर, काठमाडौँ)।

२. विजय कुमार यादव (४६ वर्ष): तत्कालीन सिम्ले चिस्यान केन्द्र इन्चार्ज, हाल बालाजु दुग्ध वितरण आयोजनामा जुनियर टेक्निकल एसिस्टेन्ट (पक्राउ स्थान: बालाजु, काठमाडौँ)।

३. मनहरी शर्मा (५५ वर्ष): तत्कालीन भक्तपुर चिस्यान केन्द्र इन्चार्ज, हाल केन्द्रीय कार्यालय लैनचौरका जुनियर टेक्निकल एसिस्टेन्ट (पक्राउ स्थान: पोखरा, कास्की)।

४. रामकेवल राय (४९ वर्ष): तत्कालीन चनौलीजिस्यान केन्द्र इन्चार्ज, हाल काठमाडौँ संकलन केन्द्रका जुनियर टेक्निकल एसिस्टेन्ट (पक्राउ स्थान: मोहनपुर, सर्लाही)।

५. जितेन्द्र कुमार यादव (२८ वर्ष): बागमती धुलो दूध कारखाना हेटौँडाका कर्मचारी (भरपाई पद) (पक्राउ स्थान: आनन्दपुर, चितवन)।

६. नवीन राय यादव (३२ वर्ष): नवलपुर/गरुडा चिस्यान केन्द्रका इन्चार्ज (डेरी बोइ पद) (पक्राउ स्थान: मेजरगञ्ज, सर्लाही)।

७. शिव नन्दन राय (४६ वर्ष): माडी चिस्यान केन्द्रका दैनिक पारिश्रमिकधारी कर्मचारी (पक्राउ स्थान: भरुवा, चितवन)।

८. विख बहादुर भण्डारी (४८ वर्ष): माडी चिस्यान केन्द्र चितवनका इन्चार्ज (जुनियर टेक्निकल एसिस्टेन्ट) (पक्राउ स्थान: माडी, चितवन)।

पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : October 30, 2026 at 9:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/