सञ्चारकर्मीमाथिको धरपकड सरकारको फासिवादी चरित्र: एमाले
१३ कात्तिक, काठमाडाैँ । नेकपा (एमाले)ले सञ्चारकर्मीहरूमाथि गरिरहेको धरपकड सरकारको फासिवादी चरित्र भएको बताएको छ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी एमाले नेता निरज आचार्यले ‘सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने जुन कार्य गरिरहेको छ, त्यो अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक हो’ भनेका छन्।
एमालेले भनेको छ, ‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार हो। राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा स्वयं सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो।’

कानुनको शासनको नाममा कानुनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन नसक्ने एमालेले स्पष्ट पारेको छ।
विज्ञप्तिमा सञ्चारमाध्यममाथि गरिने कुनै पनि प्रकारको गैरकानुनी हस्तक्षेप र धरपकड तत्काल बन्द गर्न र सञ्चारगृह तथा सञ्चारकर्मीको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्नसमेत माग गरिएको छ।
सरकारको यस प्रकारको अलोकतान्त्रिक, दमनकारी र निरङ्कुश कदमको घोर निन्दा र भर्त्सना गर्दै गिरफ्तार गरिएका सञ्चारकर्मीहरूको विनासर्त रिहा गर्न माग गरेको छ।
प्रकाशित मिति : October 30, 2026 at 8:59 pm










