समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियोः शिव गाउँले
१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने बहानामा प्रहरी समाचार कक्षमै छिरेर पत्रकार पक्राउ गर्न थालेकामा गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्रहरीको यस्तो कदमले मुलुकमा संविधान नै सङ्कटमा परेको टिप्पणी उनले गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै गाउँलेले लेखेका छन्, “समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।”

उनका अनुसार अहिलेको परिस्थिति केवल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बचाउमा मात्र सीमित नरहेर समग्र संविधानकै रक्षाका लागि लड्नुपर्ने अवस्थामा पुगेको छ।
समाचारको स्रोत सोध्दै प्रहरीले आजै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका पत्रकार शोबराज बराल र डीएनए खबरका पत्रकार धिरज बस्नेतलाई नियन्त्रणमा लिएको छ।
यस्तै, प्रहरी टोली अन्य सञ्चारगृहका कार्यालयमा समेत पुगेको छ। नयाँ पत्रिकाको कार्यालय पुगेको प्रहरीले पत्रकार नवराज मैनालीबारे सोधपुछ गरेको र उनी नभेटिएपछि कार्यालयमै कुरेर बसेको त्यहाँ कार्यरत पत्रकारहरूले जनाएका छन्। त्यसैगरी, दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानालाई नियन्त्रणमा लिन प्रहरी दियो पोस्टको कार्यालयमै पुगेको छ।
प्रकाशित मिति : October 30, 2026 at 7:40 pm










