८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

कालिञ्चोक दर्शन गरेर फर्किएको बस दोलखामा दुर्घटना, ८ यात्रु घाइते

७ कात्तिक, दोलखा । भक्तपुरबाट कालिञ्चोक दर्शन गरेर फर्किँदै गरेको यात्रुबाहक बस दोलखाको भीमेश्वर नगरपालिका–६ सिमपानी बिसौनामा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। शुक्रबार साँझ ७ः४५ बजे बा ४ ख ४२८० नम्बरको बस चरिकाेट–कालिञ्चोक सडकखण्डको सिमपानीस्थित मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसमा २७ जना धार्मिक यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका आठ जनालाई उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल पठाइएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ का ७० वर्षीय बालकृष्ण होन्ना, ६९ वर्षीया कान्छीमाया होन्ना र ८२ वर्षीय टीकाकाजी पास्मा घाइते भएका छन्। उनीहरूमध्ये बालकृष्णको ढाडमा दुखाइ, कान्छीमायाको बायाँ कानको छेउमा चोट तथा टीकाकाजीको टाउको र दाहिने हातमा चोट लागेको छ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिका–६ का ५२ वर्षीय बालकृष्ण प्रजापति, वडा नम्बर ४ की १६ वर्षीया रोजिता पासिमा र ४२ वर्षीया चखनामाया प्रजापति तथा वडा नम्बर ८ की ५८ वर्षीया चन्द्रमाया पासिमा र ४५ वर्षीया लक्ष्मी महर्जन पनि घाइते भएका छन्।

उनीहरूमध्ये बालकृष्ण प्रजापतिको कम्मरमा, रोजिताको दाहिने हातमा, चखनामायाको टाउको र दाहिने हातमा चोट लागेको छ। चन्द्रमायाको टाउको सुन्निएको छ भने लक्ष्मीको गर्धनमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि उद्धारका लागि नजिकै रहेको नेपाली सेनाको गरुड दल गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खटिएका थिए। उद्धारका क्रममा दोलखाको भीमेश्वर नगरपालिका–६ सिमपानीका १८ वर्षीय रुपेष तामाङको दाहिने हातमा समेत चोट लागेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनाग्रस्त बस हटाएपछि उक्त सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : October 24, 2026 at 8:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/