नवराज दाहालको मृत्युपछि बट्टार अशान्त, न्याय माग्दै आफन्त सडकमा
३ कात्तिक, नुवाकोट । विदुर नगरपालिका–४ बट्टारस्थित युनाइटेड आधारभूत विद्यालयअगाडि कार्तिक २ गते भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकको उद्धारमा खटिएका विष्णुप्रसाद सापकोटाले दुर्घटनामा परेका व्यक्तिको ज्यान जोगाउन सबैलाई मानवीय सहयोग गर्न अपिल गरेका छन् ।
सिटिजन लाइफमा कार्यरत सापकोटाले दुर्घटनापछि घाइतेलाई उद्धार गर्न आफूले भोगेको अनुभव सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै दुर्घटनामा घाइतेलाई सहयोग गर्न जाँदा आफैँ समस्यामा परिने डरले पछि हट्न नहुने बताएका हुन् ।
सापकोटाका अनुसार दुर्घटना देखेपछि उनी तत्काल घाइतेको उद्धार गर्न पुगेका थिए । स्कुटर चालक अत्यधिक रक्तस्रावका कारण बेहोस भइसकेका थिए । एक्लैले उठाउन नसक्ने अवस्था भएपछि उनले घटनास्थलमा रहेका अन्य व्यक्तिलाई सहयोगका लागि ठूलो स्वरले बोलाए ।
‘आउनुस्, कृपया छिटो आउनुस्’ भन्दै पटक–पटक आग्रह गर्दा पनि करिब दुई मिनेटसम्म कोही सहयोगका लागि नआएको उनले बताएका छन् । त्यसपछि आफूले ‘यो सबको जिम्मा म लिन्छु, कृपया छिटो आउनुस्’ भनेपछि मात्रै अन्य व्यक्ति सहयोगका लागि आएको उनको भनाइ छ ।

त्यसपछि घाइतेलाई तत्काल नजिकैको अस्पताल पुर्याइएको र आफूले प्रहरीलाई पनि फोन गरेको सापकोटाले बताएका छन् । केही समयपछि प्रहरी घटनास्थलमा पुगेका थिए । घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको उनले जानकारी दिएका छन् ।
दुर्घटनास्थलमा रहेका केही व्यक्तिले घाइतेको उद्धार गर्न जाँदा आफूहरू नै कानुनी झमेलामा पर्न सक्ने डरले सहयोग नगरेको पछि कुराकानीका क्रममा बताएको सापकोटाले उल्लेख गरेका छन् ।
उनले यसअघि पनि दुईवटा ठूला दुर्घटनाका घाइतेलाई आफ्नै गाडीमा अस्पताल पुर्याएको र आफन्त नआउँदासम्म अस्पतालमै कुरेर बसेको अनुभव सुनाएका छन् । प्रहरी र कानुन समाजकै हितका लागि भएकाले दुर्घटनामा परेका व्यक्तिको जीवन बचाउन प्राथमिकता दिनुपर्ने उनको आग्रह छ ।
‘एक–दुई मिनेटको अन्तरले पनि दुर्घटनाका बिरामीलाई धेरै असहज हुन सक्छ,’ उनले लेखेका छन्, ‘यस्तो अवस्थामा हामी बिरामीको ज्यान जोगाउन लागौँ।’
नवराजको मृत्युपछि चालकलाई कारबाही र क्षतिपूर्तिको माग
उक्त दुर्घटनामा विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका का बासिन्दा नवराज दाहालको मृत्यु भएको छ । कार्तिक २ गते विद्युतीय सवारीसाधन (ईभी) को ठक्करबाट उनको मृत्यु भएको हो ।
सोमबार दिउँसो २ः३० बजेको समयमा बा ३८ प ३२४३ स्कुटरको स्कुटरलाई विपरित दिशामा गएर देव तामाङले चलाएको बा ०३ ००६ ख ९११२ नम्बरको ईभीले ठक्कर दिएको थियो । प्रत्यक्षदर्शी र उनीहरूका आफन्तले स्कुटर माथिको ठक्कर दुर्घटनाको रूपमा मात्र बुझ्न नहुने बताएको घटनास्थलबाट उज्वल तिवारीले बताएका छन । उनले अहिले पनि न्यायको माग गर्दै प्रदर्शन जारी रहेको बताएका छन ।
दाहालका परिवार तथा आफन्तले घटनामा संलग्न माइक्रोबसका चालकलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरूले पासाङल्हामु राजमार्ग बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।
एकातिर दुर्घटनामा घाइतेको उद्धारमा देखिएको मानवीय संवेदनाको उदाहरण सार्वजनिक भएको छ भने अर्कोतिर नवराजको मृत्युपछि न्याय र क्षतिपूर्तिको माग गर्दै परिवार तथा आफन्त आन्दोलनमा उत्रिएका छन् । घटनाको कानुनी प्रक्रिया, चालकको जिम्मेवारी र पीडित परिवारले उठाएका मागको सम्बोधन अब यस घटनाका महत्त्वपूर्ण पक्ष बनेका छन् ।

प्रकाशित मिति : October 20, 2026 at 4:07 pm










