सुनकोसीमा खस्यो यात्रुवाहक सुमो, तीन महिलाको मृत्यु, तीन जना बेपत्ता
१ कात्तिक, सिन्धुली । काठमाडौँबाट खोटाङ जाँदै गरेको यात्रुवाहक टाटासुमो सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि पठाइएको छ। चालकको भनाइअनुसार दुर्घटनामा तीन जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार को १ ज २९७६ नम्बरको टाटासुमो आइतबार बिहान २ः३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको हो।
रत्नावतीस्थित प्रहरी चौकीका अनुसार दुर्घटनास्थलमा तीन महिलाको शव फेला परेको छ। उद्धार गरिएका चालकसहित चार जनालाई उदयपुरस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचारका लागि पठाइएको छ।

उद्धार गरिएकामध्ये ओखलढुंगा निवासी २९ वर्षीय चालक आशिष विष्ट बेहोस अवस्थामा छन्। खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र खोटाङको दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विकको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार र घटनाको विस्तृत विवरण संकलन भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति : October 18, 2026 at 6:56 am










