बढ्यो महँगी, भदौमा मुद्रास्फीति ६.३४ प्रतिशत पुग्यो
२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षको साउन र भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.७० प्रतिशत थियो ।
चालु आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.७८ प्रतिशतले र सहरी क्षेत्रको ६.१९ प्रतिशतले बढेको छ। भदौमा प्रदेशगत आधारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेश प्रदेशमा ७.४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१६ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको भदौ महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२८ प्रतिशत, तराईको ६.८९ प्रतिशत, पहाडको ६.४१ प्रतिशत र हिमालको ५.६९ प्रतिशत रहेको छ ।भदौ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.१० प्रतिशत रहेको थियो ।
प्रकाशित मिति : October 15, 2026 at 5:59 pm








