सिटिजन्स बैंकका ग्राहकलाई होटल, रेस्टुरेन्ट र बाइक सेवामा १५ प्रतिशतसम्म छुट
२९ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा खरिदमा विशेष छुट उपलब्ध गराउने गरी तीन संस्थासँग सहकार्य गरेको छ। बैंकले रमाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पार्क बाइक प्रालिसँग छुटसम्बन्धी सम्झौता गरेको हो।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सम्बन्धित संस्थाबाट सेवा लिँदा आकर्षक छुट पाउनेछन्। बैंकका अनुसार होटल हिमालयन होराइजनमा डेबिट कार्डवाहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र क्रेडिट कार्डवाहकले १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
रमाडा एन्कोर काठमाडौंमा खाना, पेय पदार्थ तथा स्पा सुविधामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ भने पार्क बाइक प्रालिमा विद्युतीय तथा सामान्य साइकल खरिदमा १० प्रतिशत छुट पाइनेछ। बैंकले यस्तो सहकार्यले ग्राहकलाई दैनिक जीवनसँग जोडिएका सेवा सहज र किफायती दरमा उपलब्ध गराउनुका साथै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ।
बैंकले डिजिटल कारोबारतर्फ ग्राहकलाई आकर्षित गर्न समयसमयमा यस्ता साझेदारी विस्तार गर्दै आएको जनाएको छ। सिटिजन्स बैंकले हाल देशभर करिब २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ। बैंकका अनुसार करिब १९ लाख ७० हजार ग्राहकले यसको बैंकिङ सेवा उपयोग गरिरहेका छन्।
प्रकाशित मिति : October 15, 2026 at 4:25 pm








