२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सुधार, ९३ अर्ब ५२ कर्जा लगानी

२९ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी सुधार आएको छ । चालु आवको साउन महिनामा २३ अर्ब ५८ करोड रहेको कर्जा भदौमा ९३ अर्ब ५२ करोड पुगेको हो ।चालु आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत अर्थात ९३ अर्ब ५२ करोडले वृद्धि भई ५९ खर्ब ५० अर्ब ५८ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशतले बढेर ४९ अर्ब २४ करोड पुगेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ । २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको सोही महिनामा यस्तो अंश क्रमश: ६२.८ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो । चालु आवको सो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको छ ।

२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १५.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.८ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमश: १५.१ प्रतिशत र ६४.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको ७.३ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले बढेको छ ।

त्यसैगरी थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले बढेको छ । वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत घटेको कन्द्रस्य बैंकले जनाएको छ ।

चालु आवको भदौमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट कर्जा ९.४ प्रतिशत, विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल स्टेट कर्जा १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृति कर्जा ०.८ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत, र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : October 15, 2026 at 4:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/