विन्ध्यवासिनी हाइड्रोपावरको सेयर कारोबार रोक्का, तीन दिनभित्र स्पष्टीकरण माग
२८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार स्थगित गरेको छ । कम्पनीले साधारणसभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय समयमै नेप्सेलाई जानकारी नगराएको भन्दै कारोबार रोकिएको हो।
नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिले असोज २६ गते दिउँसो ३ः३० बजे बैठक बसेर वार्षिक साधारणसभा, बुक क्लोज र लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो। तर उक्त निर्णयको जानकारी कम्पनीले असोज २७ गते साँझ ५ः५९ बजे मात्रै नेप्सेको अनलाइन प्रणालीमार्फत गराएको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार शेयर मूल्यमा प्रभाव पार्न सक्ने सूचना तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ। कम्पनीले उक्त व्यवस्था पालना नगरेको भन्दै नेप्सेले विनियमावलीको विनियम १६ (१) (ख) बमोजिम मिति २०८३ असोज २८ गतेको निर्णयानुसार कम्पनीको सेयर कारोबार स्थगन गरेको जनाएको छ ।
साथै, नेप्सेले कम्पनीलाई पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र के–कति कारणले समयमै जानकारी दिन नसकिएको हो भनी स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ।
प्रकाशित मिति : October 14, 2026 at 4:26 pm







