२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

परराष्ट्रमन्त्री खनाल र स्विस राजदूत डा. डेनिएल म्युलीबीच भेटवार्ता, सहकार्य सुदृढ बनाउनेबारे छलफल

२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. डेनिएल म्युलीले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त भेटमा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा गहन विचारविमर्श भएको छ ।

यस वर्ष नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ परेको छ । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयताका सात दशक लामो ऐतिहासिक मित्रता, आपसी विश्वास र जनता–जनताबीचको घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै दुवै पक्षले यस ऐतिहासिक अवसरलाई विशेष रूपमा मनाउने र सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले स्विट्जरल्यान्डले नेपालको सामाजिक तथा आर्थिक विकासमा लामो समयदेखि पुर्याउँदै आएको निःस्वार्थ र निरन्तर सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । विशेषगरी, स्विस सरकारले नेपालमा झोलुंगे पुल निर्माण, ग्रामीण पूर्वाधार विकास, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम, कृषि र संघीयता सबलीकरणका क्षेत्रमा पुर्याएको योगदानको उनले उच्च सराहना गरे ।

उक्त अवसरमा राजदूत म्युलीले नेपालको विकास यात्रामा स्विट्जरल्यान्ड सदैव भरपर्दो साझेदारका रूपमा रहने प्रतिबद्धता दोहोर्याए । उनले ७०औं वर्षगाँठको सन्दर्भमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान, व्यापार, लगानी प्रवर्धन, पर्यटन विकास तथा सांस्कृतिक आदानप्रदानलाई तीव्रता दिन स्विस दूतावास तत्पर रहेको बताए ।

साथै, दुवै देश पर्वतीय भूबनोट भएका मुलुक भएकाले जलवायु परिवर्तनले हिमाली तथा पर्वतीय पारिस्थितिक प्रणालीमा पारेको गम्भीर असर र यसका चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा साझा धारणा बनाएर सहकार्य गर्ने विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : October 13, 2026 at 3:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/