२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

पूजाको घिउ भन्दै अखाद्य पदार्थ बेच्न नपाइने, लेबलमा कालो क्रस अनिवार्य

२६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि प्रयोग हुने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन तथा बिक्री–वितरण गर्न प्रतिबन्ध लगाएको छ।

विभागले बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा यस्तो निर्देशन जारी गरेको हो। विभागका अनुसार केही खाद्य व्यवसायी तथा उत्पादन उद्योगले वनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत घिउ तथा तेल, वासना, प्याराफिन, खनिज तेललगायत रासायनिक पदार्थ मिसाएर पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री गर्दै आएका छन्।

यस्ता उत्पादनको स्वरूप, रङ, गन्ध, प्याकेजिङ तथा प्रस्तुति खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ता झुक्किएर खानेकुरामा समेत प्रयोग गर्न सक्ने जोखिम रहेको विभागले जनाएको छ।

नेपाल सरकारले घिउ, वनस्पति घिउ तथा बेकरी सर्टेनिङको मापदण्ड खाद्य प्रयोजनका लागि तोकेको उल्लेख गर्दै विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि बनाइएका चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टेनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री–वितरण गर्न नपाइने स्पष्ट पारेको छ।

विभागले यस्ता प्रयोजनका लागि उत्पादन तथा बिक्री गरिने चिल्लो पदार्थको लेबलको अग्रभागमा ‘खानको लागि होइन’ भन्ने वाक्यांश उल्लेख गरी कालो क्रस (✕) चिह्न स्पष्ट देखिने गरी ठूलो अक्षरमा राख्नुपर्ने व्यवस्था गरेको छ। साथै, त्यस्ता उत्पादनको लेबलमा ‘घिउ’, ‘बेकरी सर्टेनिङ’ वा ‘वनस्पति घिउ’ जस्ता शब्द उल्लेख गर्न नपाइने विभागले जनाएको छ।

खाद्य घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङका रूपमा बिक्री गरिने उत्पादनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमको लेबल विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विभागको सूचनामा भनिएको छ।

विभागका अनुसार यस व्यवस्थाले खाद्य तथा अखाद्य उत्पादनबीच हुने मिश्रण, मिसावट र गलत लेबलिङ नियन्त्रण गर्न तथा गैरखाद्य उत्पादन खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गर्ने सम्भावना रोक्न मद्दत पुग्नेछ।

विभागले निर्देशनविपरीत कार्य गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : October 12, 2026 at 6:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/