एनएमबि बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य
२६ असोज, काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्यापिड टेक प्रा.लि.सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ। व्यावसायिक संस्थाहरूले दैनिक रूपमा प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले र्यापिड टेकसँग सम्झौता गरेको हो।
सम्झौतापछि एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले आफ्नै प्रणालीभित्र रहेर रकम भुक्तानी, हिसाब मिलान (रिकन्सिलिएसन) तथा अन्य बैंकिङ कारोबार तुरुन्तै गर्न सक्ने बैंकले जनाएको छ।

त्यसैगरी, साना तथा मझौला व्यवसायीहरूले पनि व्यापारिक केन्द्र तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। निकट भविष्यमा सञ्चालनमा आउने यो सुविधाले अनावश्यक झन्झट घटाउनुका साथै ग्राहकको समय बचत गर्ने र वित्तीय कारोबारलाई थप सरल तथा प्रभावकारी बनाउने बैंकको अपेक्षा छ। एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति : October 12, 2026 at 5:19 pm







