२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

बर्दघाटमा यात्रुवाहक बस पल्टिँदा ७ जना घाइते

२६ असाेज, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।

सोमबार बिहान करिब ७ः३० बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो।

बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेकोमा दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ की ३० वर्षीया भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का र दार्चुलाको मार्मा गाउँपालिका–३ का ४८ वर्षीय धनञ्जय जोशी छन्।

त्यस्तै, बसका चालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र वि.क. र सहचालक गोदावरी नगरपालिका–१ का ४६ वर्षीय मोहन जोशी पनि घाइते भएका छन्।

घाइतेमध्ये मौसमी ओढको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३९ जी २८७६ नम्बरको ट्रकमा समेत सामान्य ठक्कर लागेको छ। ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : October 12, 2026 at 11:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/