२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

सुन चोरेर बेच्ने नुवाकोटका जितबहादुरसहित पाँच जना पक्राउ

२६ असोज, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित एक घरबाट ८४ लाख ७६ हजार ७०० रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

गत असोज १८ गते बिहान १० बजेर ७ मिनेटको समयमा घरमा कोही नभएको मौका पारी चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले असोज २४ गते काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका–१ छात्रेदेउराली घर भई काठमाडौं महानगरपालिका–२२ न्युरोड बस्ने २८ वर्षीय राजन स्याङ्बो (सिजल तामाङ), दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारी घर भई काठमाडौं महानगरपालिका–२३ झोसे बस्ने २७ वर्षीया रिया कार्की रहेका छन ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१६ एकम्बा घर भई काठमाडौंको नागार्जुन नगरपालिका–३ बस्ने ३३ वर्षीय प्रकाश कडुवाल र काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ चारघरे घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ४५ वर्षीय जितबहादुर विश्वकर्मा पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट चोरी भएको सुनको तिलहरी एक थान, सिक्री एक थान, बाला एक थान, औँठी चार थान, झुम्का एक जोर, गणेशको लकेट एक थान र सुनको टुक्रा एक थान बरामद गरेको जनाएको छ। बरामद सुनका गरगहनाको कुल तौल ६ तोला ८९ लाल रहेको छ।

त्यस्तै, डेल कम्पनीको एउटा ल्यापटप, विभिन्न कम्पनीका तीनवटा मोबाइल, चाँदीका दुईवटा औँठी, फलामको एउटा औजार र नेपाली नगद दुई लाख ७० हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको छ।

प्रकाशित मिति : October 12, 2026 at 6:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/