२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

नेपाली बजारमा १६ सिटर विद्युतीय मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’ सार्वजनिक, मूल्य कति ?

२५ असोज, काठमाडौं । नेपालका लागि म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटोक्स प्रालिले प्रिमियम सुविधासहितको १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’नेपाली बजारमा सार्वजनिक गरेको छ ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यस गाडीको नेपाली बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। उक्त नयाँ मिनिबसलाई हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा तथा प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा सार्वजनिक गरे। सो कार्यक्रममा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल सिवाकोटीको समेत उपस्थिति रहेको थियो।

यो गाडी विशेषगरी होटल, रिसोर्ट तथा पर्यटन क्षेत्रको आतिथ्य सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त विकल्पको रूपमा ल्याइएको कम्पनीले जनाएको छ। यसअघि कम्पनीले बजारमा ल्याएको ‘म्याक्सस ई–टेरोन ९’पिकअप आकर्षक र बोल्ड डिजाइनका कारण नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ।

नेपालको सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेको सन्दर्भमा विद्युतीय कार जत्तिकै सुविधा र विशेषताहरू भएको यस मिनिबसमा आधुनिक तथा आकर्षक बनावट, सुविधासम्पन्न इन्टेरियर, उन्नत सुरक्षा प्रविधि र आरामदायी यात्राको संयोजन रहेको कम्पनीले उल्लेख गरेको छ।

गाडीमा प्रिमियम सुविधाका लागि १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली दिइएको छ, जसले ब्लुटुथ, युएसबी, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो समर्थन गर्दछ। साथै, चार तहको एडजस्टेबल स्टेरिङ, आकर्षक तथा आधुनिक ककपिट, स्टेरिङ माउन्ट तथा स्विच गियरजस्ता फिचर्सले यात्रालाई सहज बनाउने बताइएको छ।

म्याक्सस ई–डेलिभर ५ मा ६४ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। यसले एनईडीसी परीक्षण अनुसार अधिकतम ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको मोटरले अधिकतम १२० किलोवाट पावर र २४० एनएम टर्क उत्पादन गर्दछ।

यसमा ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसको सहायताले ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केवल ३६ मिनेट लाग्नेछ। सुरक्षाका दृष्टिकोणले यस गाडीमा ३६० डिग्री अराउन्ड-भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, इमर्जेन्सी लेन किपिङ तथा ड्राइभर स्टेट मोनिटरिङजस्ता आधुनिक प्रविधि समावेश गरिएको छ। यसका अतिरिक्त अगाडिको सिटका यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम पनि उपलब्ध छ। गाडीमा २०० एमएमको ग्राउन्ड क्लेरेन्स र सबै चक्कामा एलोय ह्विल रहेको छ।

विश्वविख्यात एसएआईसी ग्रुपअन्तर्गत चीनमा उत्पादित यस मिनिबसको ब्याट्रीमा ८ वर्ष र मोटरमा ५ वर्षको वारेन्टी सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले गर्दा विद्युतीय व्यावसायिक सवारीसाधन अपनाउन चाहने व्यवसायीहरूलाई थप विश्वास मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : October 11, 2026 at 5:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/