२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान गृहमन्त्रीको आग्रह

२५ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।’

नेपालले फेरि अर्को भीषण बाढीको सामना गर्नुपरेको भन्दै उनले लेखेका छन्, ‘यसपालि मेरै आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिका-३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

घटनालगत्तै उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको गृहमन्त्री गुरुङले बताएका छन् । उनका अनुसार उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेका छन् ।

प्रकाशित मिति : October 11, 2026 at 9:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/