२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

बेलकोटगढीका विद्यार्थीलाई सन्तोषी ढुंगानाको तर्फबाट न्यानो कपडा सहयोग

२४ असोज, नुवाकोट। सामाजिक अभियानअन्तर्गत सन्तोषी ढुंगानाले नुवाकोटको बेलकोटगढी नगरपालिकाका तीन विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी छिन । करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी कपडा वितरण गरिएको उनले बताएकी छिन । उनले ६ सयभन्दा बढी विद्यार्थीका लागि कपडा वितरण गरेको बताएकी छिन ।

कार्यक्रमहरूमा ढुंगानाले यो अभियान सामाजिक सेवाको उद्देश्यले सञ्चालन गरिएको र यसमा कुनै राजनीतिक स्वार्थ नरहेको स्पष्ट पारेकी थिइन । उनले विद्यालयलाई दलीय राजनीतिक प्रभावभन्दा बाहिर राखेर विद्यार्थीको शिक्षा, अधिकार र भविष्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन ।

विद्यालयमा हुने सबै प्रकारका विभेद तथा शिक्षामा रहेको असमानताको अन्त्य गर्दै प्रत्येक विद्यार्थीले समान अवसर पाउनुपर्ने उनको भनाइ छ । सन्तोषीले आवश्यकतामा रहेका विद्यार्थीका लागि छात्रवृत्ति सुनिश्चित गर्न र टाढाबाट विद्यालय आउने विद्यार्थीका लागि यातायातको सुविधा उपलब्ध गराउनसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन ।

ढुंगानाले यसअघि पनि नुवाकोटका विभिन्न विद्यालयमा गरी कुल १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन । उनले विगत एक दशकदेखि व्यक्तिगत रूपमा विभिन्न व्यक्ति तथा समुदायलाई सहयोग गर्दै आएकी छिन । न्यानो कपडा वितरण पनि सोही सामाजिक अभियानको निरन्तरता रहेको उनले बताएकी छिन ।

प्रकाशित मिति : October 10, 2026 at 6:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/