२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

एमालेमा थपिए १३ केन्द्रीय सदस्य, केन्द्रीय कमिटी ३४५ सदस्यीय

२४ असोज, काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय कमिटीमा १३ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटीको सम्पन्न पहिलो बैठकले विभिन्न क्षेत्रका १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिएका छन ।

थापाका अनुसार मनोनीत हुनेमा तेजेन्द्र केसी, मिनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डे छन्।

स्थायी कमिटीको निर्णयसँगै उनीहरू एमाले केन्द्रीय कमिटीका सदस्य बनेका छन भने उनीहरूको छुट्टै सपथको कार्यक्रम हुनेछ । योसँगै एमालेको स्थायी कमिटी र पोलिटब्यूरो समेत आकार बढ्ने भएको छ । स्थायी कमिटीको यो बैठकले नेताहरूको कार्यविभाजन समेत गर्ने बताइएको छ । तीन दिनदेखि पार्टी मुख्यालय च्यासलमा एमाले स्थायी कमिटी बैठक बसिरहेको छ ।

केन्द्रीय सदस्य थापाका अनुसार योसँगै केन्द्रीय कमिटी ३४५ सदस्यीय भएको छ । यसअघि कृष्ण थापा-कास्कीको असामयिक निधन र लीलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचित हुनुभएकोले रिक्त २ स्थानका कारण महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटी २९९ कायम थियो।

केन्द्रीय कमिटीको तेस्रो बैठकबाट १० प्रतिशत मनोनयनअन्तर्गत २० जना र एकताप्रक्रियाबाट ३३ जना तथा शनिबार स्थायी कमिटीबाट रिक्तसमेत गरी १२ र एकताप्रक्रियाबाट १ जना गरी १३ जनासमेत ३४५ सदस्यीय संख्या कायम भएको छ।

प्रकाशित मिति : October 10, 2026 at 4:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/