कार्यविधिविपरीत खटाइएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न अर्को निर्देशन
२४ असोज, काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्यक्ति तथा निकायमा खटाइएका व्यक्तिगत सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । साथै, सुरक्षाकर्मीलाई कानुनविपरीत घरेलु वा व्यक्तिगत काममा प्रयोग गरिएको पाइएमा सम्बन्धित अधिकारीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
गृहमन्त्री सुधन गुरूङले सुशासनका लागि पहिला सुरक्षा संगठन भित्रैबाट सफाइ अभियान चलाउन सुरू गरेका छन । यसअघिका सरकारले पनि पटक पटक यसरी सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन गरे पनि केही दिन फिर्ता गरेर प्रहरी संगठनका प्रमुखहरूले पुनः पठाउने गरेका थिए । अब त्यस्तो अवस्थामा संगठनका निर्देशन नमान्नेहरू माथि कारबाही गर्न सार्वजनिक रूपमा उजुरी दिन समेत अनुरोध गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित सार्वजनिक सूचनाअनुसार, ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम पाउनुपर्ने व्यक्तिगत सुरक्षाकर्मी (पर्सनल सेक्युरिटी अफिसर–पीएसओ) बाहेक अन्य प्रयोजनका लागि सुरक्षाकर्मी खटाइएको भए फिर्ता गर्न निर्देशन दिइएको हो।
मन्त्रालयले २०८३ असोज २२ गते सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिमा व्यवस्था भएविपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई सात दिनभित्र आफ्नै दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको जनाएको छ।

पछिल्लो समय कार्यविधिमा उल्लेखित प्रावधानविपरीत सुरक्षाकर्मीलाई अन्य घरेलु तथा व्यक्तिगत काममा प्रयोग गरिएको भन्ने गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
मन्त्रालयले कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउनेसम्बन्धी जिम्मेवार अधिकारी वा पदाधिकारीमाथि कारबाही गरिने स्पष्ट पारेको छ। त्यस्तै, कानुनले तोकेको सुरक्षा कार्यबाहेक अन्य घरेलु वा व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरिएको पाइएमा त्यसबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
यस्ता गतिविधिबारे गृह मन्त्रालयको कल सेन्टरको फोन नम्बर ९८५१३६०६०३ मा जानकारी तथा उजुरी दिन सकिने सूचनामा उल्लेख छ। मन्त्रालयले सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने पनि जनाएको छ।
गृह मन्त्रालयको यो निर्देशनले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीलाई व्यक्तिगत स्वार्थ र घरेलु प्रयोजनमा प्रयोग गर्ने प्रवृत्तिमाथि निगरानी बढाउने संकेत गरेको छ।
प्रकाशित मिति : October 10, 2026 at 3:58 pm





