भाडाको घर चिनियाँ नागरिकको सुन गाल्ने कारखाना, बरामद साढे २१ केजीको मूल्य ५४ करोड भन्दा बढी
२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी सुन बरामद गरेको छ। अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति छापा मारेर तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङछिन र ३७ वर्षीय वाङ जियानझेन छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले सञ्चालन गरेको ‘अपरेसन ब्राभो गल्फ’अन्तर्गत उनीहरूलाई बिहीबार राति नियन्त्रणमा लिइएको हो। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले उक्त क्रममा तीन जना चिनियाँ समातिएको बताएका छन्। उनीहरू बूढानीलकण्ठ–२, माथिल्लो भंगालमा घर भाडामा लिएर बस्दै आएका थिए।
प्रकाशित मिति : October 9, 2026 at 4:18 pm






