बैंकिङ कसुरमा चार करोड बिगो ठहर भएका फरार प्रतिवादी पक्राउ
२३ असोज, पोखरा । बैंकिङ कसुर मुद्दामा ४ करोड रुपैयाँ बिगो ठहर भई फरार रहेका एक प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ (साविक झौखेल गाविस) का ६३ वर्षीय दिपक चन्द्र न्यौपाने रहेका छन्।
राधा पाण्डेयको जाहेरीमा उक्त बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते फैसला सुनाउँदै न्यौपानेलाई ४ करोड रुपैयाँ बिगो, बिगो बमोजिमको जरिवाना र १ महिना १५ दिन कैद सजाय ठहर गरेको थियो।

अदालतको फैसलापछि सजाय बेरुजू राखी फरार रहँदै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरी टोलीले उनलाई मिति २०८३ असोज २२ गते भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १ सृजनाटोलबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
प्रकाशित मिति : October 9, 2026 at 2:14 pm






