२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

ठगी मुद्दामा पक्राउ परे गणेश पाण्डे

२१ असोज, काठमाडौं। कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्दै आएका गणेश पाण्डे रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै कन्सल्टेन्सीले दुई वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष सामाजिक सञ्जाल टिकटकमार्फत कारबाहीको माग गरेकी थिइन्। उक्त भिडियोका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान अघि बढाएको थियाे।

पाण्डेलाई प्रहरीले असोज २० गते काठमाडौं महानगरपालिका–२६ रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पण्डेले पक्राउ अघि फेसबुक मार्फत यस्तो स्पष्टिकरण दिएका थिए

सम्पूर्णमा नमस्कार। 🙏
हिजो सामाजिक सञ्जालमा अपलोड भएको भिडियोको सन्दर्भमा केही महत्वपूर्ण कुरा स्पष्ट गर्न चाहन्छु। सम्बन्धित विद्यार्थीको भिसा रद्द भएको विषयमा हामी सबै अवगत नै छौँ।भिसा रद्द भएपछि विश्वविद्यालयबाट प्राप्त हुनुपर्ने शुल्क फिर्ता (Refund) प्रक्रियामा केही ढिलाइ भएको विषय पनि सत्य हो। सोही कारणले उत्पन्न भएको अवस्थाका बारेमा हामीले आवश्यक समन्वय र पहल गर्दै आएका छौँ।

यस क्रममा सम्बन्धित विद्यार्थीले केही रकम पहिले नै बुझिसक्नुभएको थियो। बाँकी रकम लिनका लागि कार्यालयमा पटक–पटक बोलाउँदा पनि सम्झौता तथा वास्तविक हिसाबभन्दा बढी रकमको माग गरिएको अवस्था देखियो।

त्यसपछि कार्यालयमा आएर एक्कासी विवाद सिर्जना गर्ने तथा भ्रामक र एकपक्षीय भिडियोहरू तयार गरी सामाजिक सञ्जालमार्फत संस्थाको प्रतिष्ठामा जानाजानी आँच पुर्‍याउने प्रयास भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

हामी कुनै पनि विद्यार्थीको समस्या वा गुनासोलाई बेवास्ता गर्ने पक्षमा छैनौँ। सम्बन्धित विषयलाई कानुनी प्रक्रिया र उपलब्ध प्रमाणका आधारमा निष्पक्ष रूपमा समाधान गर्न हामी प्रतिबद्ध छौँ। यस सम्बन्धमा सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक सामग्रीका विषयमा हामीले साइबर ब्युरोमा समेत आवश्यक उजुरी दर्ता गरिसकेका छौँ।अब सम्बन्धित निकायबाट सत्यतथ्य छानबिन भई उचित न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ।

हामी सबैलाई कुनै पनि निष्कर्षमा पुग्नुअघि एकपक्षीय भिडियो वा सामाजिक सञ्जालमा आएका सामग्रीका आधारमा धारणा नबनाई वास्तविक तथ्य र कानुनी प्रक्रियालाई सम्मान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। सत्य तथ्य र प्रमाणका आधारमा हामी आफ्नो पक्ष स्पष्ट गर्न सदैव तयार छौँ।
धन्यवाद। 🙏
Safal Global Consultancy

पाण्डेले फेसबुक मर्फत सार्रवजनिक गरेको विवरण ।

प्रकाशित मिति : October 7, 2026 at 1:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/