१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

ओएनएफको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौँमा हुने, ३८ देशका ३०० प्रतिनिधि सहभागी हुदै

काठमाडौँ — प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कार्तिक १८ र १९ गते) काठमाडौ बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा हुने भएको छ।

मञ्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा बसेको ३१औँ पूर्ण बैठकले अधिवेशन काठमाडौँमा गर्ने निर्णय गर्दै तयारीका लागि मूल आयोजक समितिसहित १३ वटा विभिन्न उपसमितिहरू गठन गरेको छ।

चार वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने यस अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३०० जना प्रतिनिधि तथा समर्थकहरूको सहभागिता रहनेछ।

अध्यक्ष रमेश पाण्डेका अनुसार अधिवेशनमा गैरआवासीय नेपाली नागरिकताको सबाल, सुरक्षित वैदेशिक रोजगार र प्रवासबाटै मतदान (Abroad Voting) को अधिकार जस्ता आम प्रवासीका सरोकारका विषयमा गहन छलफल हुने छ।

मञ्चको सङ्गठन हाल ४१ देशमा विस्तार भई करिब ४ हजार सङ्गठित सदस्य आबद्ध छन्। अधिवेशनका लागि राष्ट्रिय समितिबाट २० सदस्य बराबर एक प्रतिनिधि, कम्तीमा एक महिलासहित २ जना राष्ट्रिय कमिटीबाट र महादेशीय कमिटीबाट ५/५ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।

अधिवेशन सम्पन्न गर्न अध्यक्ष रमेश पाण्डेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ, जसको सहसंयोजकमा कर्ण शाही र सदस्य-सचिवमा चानक पोखरेल रहनुभएको छ।

उपसमितिहरुमा सचिवालय तथा समग्र समन्वय उपसमितिको संयोजकमा रमेश पाण्डे र सहसंयोजकमा कर्ण शाही, प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा कर्ण शाही र सहसंयोजकमा सुरेश केसी, सांगठनिक प्रतिवेदन तथा विधान संशोधन उपसमितिको संयोजकमा चानक पोखरेल र सहसंयोजकमा डा. सरोज कडेल, आर्थिक प्रतिवेदन उपसमितिको संयोजकमा सुरेन्द्र थपालिया र सहसंयोजकमा शालिकराम पन्त रहेका छन् ।

सम्मेलन आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा प्रभु थापा र सहसंयोजकमा रामशरण सिंखडा, अतिथि समन्वय तथा सत्कार उपसमितिको संयोजकमा कुन्ती थापा र सहसंयोजकमा ज्योति शर्मा, निर्वाचन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा हेमराज जोशी र सहसंयोजकमा टक गुरुङ, मञ्च तथा प्राविधिक व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण लामिछाने र सहसंयोजकमा सन्तोष भट्टराई रहेका छन् ।

प्रसार व्यवस्थापन उपसमितिको प्रमुखमा भक्त गुरुङ र उपप्रमुखमा गोविन्द पौडेल, स्वास्थ्य व्यवस्थापन उपसमितिको संयोजकमा सीता केसी र सहसंयोजकमा राजेन्द्र पुडासैनी, स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा विजय फुयाल र सहसंयोजकमा महेश गिरी, घोषणापत्र तथा अभिलेख व्यवस्थापन उपसमितिको संयोजकमा भक्त गुरुङ र सहसंयोजकमा डा. बिनोद श्रेष्ठ तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा सरस्वती केसी र सहसंयोजकमा सन्तोष भट्टराई रहेका छन् ।

मञ्चका उपसचिव तथा प्रचार विभाग प्रमुख भक्त गुरुङका अनुसार अधिवेशनको लोगो, थिम तथा जिंगल सार्वजनिक गर्न आगामी असोज २५ (अक्टोबर ११, आइतबार) काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरिनेछ।

प्रकाशित मिति : October 5, 2026 at 12:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/