१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

नुवाकोट कांग्रेस क्षेत्र नं. २ ‘ख’ मा धाँधली भएको जगदिश्वरनरसिंह केसीको आरोप

१९ असोज, नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नुवाकोट क्षेत्र नं. २ ‘ख’ मा भएको क्षेत्रीय प्रतिनिधि निर्वाचनमा धाँधली भएको आरोप लागेको छ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत रहेका कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले मतपत्र र मतगणना प्रक्रियामाथि प्रश्न उठाउँदै निर्वाचनमा अनियमितता भएको आरोप लगाएका हुन्। उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत मतपत्रमा देखिएको हस्ताक्षरदेखि निर्वाचन प्रक्रियासम्म गम्भीर प्रश्न उठाएका छन्। उनी तीन कार्यकाल नुवाकोट कांग्रेसको सभापति भएका नेता हुन ।

केसीले क्षेत्र नं. २ ‘ख’ को मतपत्रमा देखिएको हस्ताक्षर एउटै व्यक्तिको हुन सक्ने वा नसक्ने भन्दै मतदान अधिकृतको जिम्मेवारीमाथि प्रश्न गरेका छन् । उनले मतदान अधिकृतले यति गैरजिम्मेवार ढंगले हस्ताक्षर गर्न सक्ने हो कि होइन भन्ने प्रश्नसमेत गरेका छन् । ‘ख’मा केसी र उनका सोदर ठूलो दाजु अर्जुननरसिंह केसीलाई भारी मतले अस्वीकृत गरेका छन ।

उनले निर्वाचन अधिकृतले प्राप्त गरेको मतपत्रभन्दा फरक मतपत्र बाहिर छपाएर त्यसमा विभिन्न किसिमका हस्ताक्षर गरी मत हाल्ने अवस्था सिर्जना गरिएको आरोप लगाएका छन्। त्यस्तै, पार्टीका सहमहामन्त्री तहका नेताहरूले समेत त्यस्तो गतिविधिको नेतृत्व गरेको उनको दाबी छ।

“निर्वाचन अधिकृतले प्राप्त मतपत्रभन्दा फरक मत बाहिर छपाएर मतपत्रमा ९ थरि हस्ताक्षर गरी मत हालाउन नेतृत्व गर्ने सहमहामन्त्री भन्नेहरूको हर्कत पनि यो अधिवेशनमा देखियो,” केसीले फेसबुकमा लेखेका छन्।

केसीले क्षेत्रीय प्रतिनिधिहरूले आफैँ मतदान गर्न पाउने वातावरण निर्माण गर्न चुनौतीसमेत दिएका छन्। उनले निर्वाचन प्रक्रियामा सहभागी प्रतिनिधिहरूलाई आफूले मतदान गर्न पाउने अवस्था सुनिश्चित गर्न तयार हुन आग्रह गरेका छन्।

केसीका अनुसार निर्वाचन प्रक्रियामा देखिएका विवादबारे केन्द्रीय निर्वाचन कार्यालयलाई जानकारी गराउँदै प्रक्रिया रोक्न पत्राचारसमेत गरिएको थियो। तर, केन्द्रबाट प्रक्रिया रोक्न भनिए पनि निर्वाचन प्रक्रिया नरोकिएको उनको आरोप छ। उनले आर्थिक चलखेलका कारण प्रक्रिया नरोकेको समेत दाबी गरेका छन्।

यो पनि पढ्नुहोस्

त्रिशुलीपारी नेपाली कांग्रेसभित्रै केसी दाजुभाइ अस्वीकृत

केसीले मतगणना सम्पन्न हुने समयमा निर्वाचन प्रक्रियामा धाँधली भएको आरोप लगाएका हुन्। यसअघि उनले केन्द्रमा आफ्नो राजनीतिक पहुँच प्रयोग गर्दै निर्वाचन समितिका नाममा मतगणना स्थगित गर्न पत्राचार गराउने प्रयाससमेत गरेका थिए। तर, मतगणना रोक्न भने सकेनन्।

क्षेत्र नं. २ ‘ख’ मा केसीले आफ्नै प्यानल बनाएर महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। निर्वाचन परिणाम सार्वजनिक हुने अन्तिम चरणमा उनले धाँधलीको आरोप लगाएपछि नुवाकोट कांग्रेसको क्षेत्रीय अधिवेशन थप विवादमा तानिएको छ।

केसीले उठाएका मतपत्र, हस्ताक्षर, मतगणना र निर्वाचन प्रक्रियासम्बन्धी प्रश्नबारे सम्बन्धित निर्वाचन अधिकृत तथा कांग्रेसको केन्द्रीय निर्वाचन समितिको औपचारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति : October 5, 2026 at 7:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/