१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

नयाँ केन्द्रीय कार्यालयका लागि घर र जग्गाको सूचना दिन रास्वपाको अपिल

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकामा जग्गा वा घर खरिद गर्ने भएको छ। हालको कार्यालय पार्टीका लागि पर्याप्त नभएको निष्कर्षसहित रास्वपाले उपत्यकाको पायक पर्ने स्थानमा नयाँ कार्यालयका लागि जग्गा वा घर खोजी गर्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गर्ने निर्णय गरेको हो।

सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै नयाँ स्थानको खोजी गर्ने निर्णय गरेको हो।

बैठकले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्नुका साथै विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ।

स्थानीय तह निर्वाचनका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामीलाई सदस्य मनोनयन गरिएको छ। पार्टीका सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहने रास्वपाले जनाएको छ।

बैठकले असोज २० देखि २७ गतेसम्म ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा पुगेर जनतासँग छलफल तथा सुझाव संकलन गर्ने गरी ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू विभिन्न जिल्लाका पालिकामा पुगेर जनता, पार्टीका नेता–कार्यकर्ता तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्नेछन्। पार्टीले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ।

बैठकले विभिन्न केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख तथा सदस्यसमेत मनोनयन गरेको छ। प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य र सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग प्रमुखमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द र संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मीलाई जिम्मेवारी दिइएको छ। संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा सम्राट बुढाथोकीलाई सदस्य तोकिएको छ।

वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी, सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा र अभियान तथा प्रचारप्रसार विभागमा आनन्द मिश्रलाई जिम्मेवारी दिइएको छ। अभियान तथा प्रचारप्रसार विभागमा मिश्रलाई उपप्रमुखको जिम्मेवारीसमेत दिइएको रास्वपाले जनाएको छ। अर्थ विभागको जिम्मेवारी डिल्लिश्वोर कार्की (रोहन)लाई दिइएको छ।

यसैगरी रास्वपा मधेश प्रदेश संगठनका समस्या तथा समाधानका विषयमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन केन्द्रीय समिति बैठकमा सभापति लामिछानेलाई बुझाएको छ। प्रतिवेदन अध्ययन गरी आवश्यक कदम चालिने पार्टीले जनाएको छ।

बैठकले आगामी विजयादशमी, दीपावली, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामनासमेत व्यक्त गरेको छ।

प्रकाशित मिति : October 4, 2026 at 7:47 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/