१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

पूर्व जिल्ला सभापति र पूर्व सांसद नै महाधिवेशन प्रतिनिधिमा पराजित

१७ असोज, तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँमा सम्पन्न क्षेत्रीय अधिवेशनको निर्वाचन परिणामले पार्टीभित्रको समीकरणमा रोचक तस्वीर देखाएको छ। लामो समय पार्टी संगठनमा सक्रिय रहेका तथा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका नेताहरू नै महाधिवेशन प्रतिनिधिमा चयन हुन सकेनन्।

महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धामा कांग्रेस तनहुँका पूर्व जिल्ला सभापति तथा पूर्व संविधानसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म पराजित भएका छन्।

महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रमुख नेताहरूमा रघुनाथ पौडेल, रामचन्द्र पोखरेल, लक्ष्मीप्रसाद आचार्य, सहदेव अधिकारी, परमेश्वर भट्टराई, काशीराम श्रेष्ठ र रमेशचन्द्र हड्खले रहेका छन्।

पौडेल नेपाली कांग्रेस तनहुँको तीन कार्यकाल जिल्ला सभापति भइसकेका नेता हुन्। लामो समय जिल्लाको पार्टी नेतृत्व सम्हालेका पौडेल महाधिवेशन प्रतिनिधिको निर्वाचनमै रोकिएका हुन्।

त्यस्तै रामचन्द्र पोखरेल पूर्व संविधानसभा सदस्य हुन्। पार्टी राजनीतिमा लामो समय सक्रिय रहेका पोखरेल पनि यसपटक महाधिवेशन प्रतिनिधि बन्न सकेनन्।

त्यसैगरी लक्ष्मीप्रसाद आचार्य, सहदेव अधिकारी र परमेश्वर भट्टराईले पनि पार्टी संगठनमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। अधिकारीले कांग्रेस तनहुँको जिल्ला सचिव तथा भट्टराईले सहसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

महाधिवेशन प्रतिनिधिको निर्वाचनमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसमेत पराजित भएका छन्। काशीराम श्रेष्ठ व्यास नगरपालिका–२ का वडाध्यक्ष हुन् भने रमेशचन्द्र हड्खले व्यास नगरपालिका–१ का वडाध्यक्ष हुन्। दुवै जना यसपटक महाधिवेशन प्रतिनिधि चयन हुन सकेनन्।

कांग्रेस तनहुँमा लामो समयदेखि पार्टी संगठनमा प्रभाव राख्दै आएका, जिल्ला नेतृत्व सम्हालेका र निर्वाचित जनप्रतिनिधिसमेत रहेका नेताहरू महाधिवेशन प्रतिनिधिको निर्वाचनबाट बाहिरिनुले यसपटकको क्षेत्रीय अधिवेशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पूर्व जिल्ला सभापति, पूर्व संविधानसभा सदस्य, पूर्व जिल्ला पदाधिकारी तथा बहालवाला वडाध्यक्षसम्म प्रतिनिधि चयनमा छुट्नुले महाधिवेशन प्रतिनिधि छनोटमा पुरानो राजनीतिक हैसियतभन्दा वर्तमान संगठनात्मक समीकरण र प्रतिनिधिहरूको मत निर्णायक बनेको संकेत गरेको छ।

प्रकाशित मिति : October 3, 2026 at 12:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/