१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

पर्थमा नेपाल महोत्सव आयोजना हुँदै: नेपाली संस्कृति र परिकार प्रवर्द्धन गर्दै एनआरएनए

पर्थ (अष्ट्रेलिया) — वेस्टर्न अष्ट्रेलियाको राजधानी पर्थमा नेपाली कला, संस्कृति, संगीत, मौलिक परिकार र बहुसांस्कृतिक पहिचानलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘नेपाल महोत्सव पर्थ २०२६’ आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ (NRNA) वेस्टर्न अष्ट्रेलियाको आयोजनामा आगामी अक्टोबर १०, २०२६ (शनिबार) का दिन पर्थको मध्यभागमा रहेको वेलिङ्टन स्क्वायर (Wellington Square) मा महोत्सव आयोजना हुन लागेको हो। बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम सर्वसाधारणका लागि पूर्णतः निःशुल्क तथा परिवारमैत्री रहनेछ। नेपाल महोत्सवको उद्देश्य नेपाली संस्कृति र परिकार प्रवर्द्धन गर्दै यहाँ हुर्किदै गरेको नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने एनआरएनए वेस्टन अष्ट्रेलियाका संयोजक हरिवंश संजेलले बताउनु भयो। उहाँले पर्थ क्षेत्रमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिबृद्धि गर्न पनि नेपाल महोत्सवले महत्वपूर्ण योगदान गर्ने बताउनु भयो ।

महोत्सवको मुख्य आकर्षण  सांस्कृतिक परेड, ‘नेपाल हाउस’ र सांगीतिक आकर्षण हुने भएको छ । हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवलाई वेस्टर्न अष्ट्रेलियामा नेपाली पहिचान प्रवर्द्धन गर्ने सबैभन्दा ठूलो सामुदायिक उत्सवका रूपमा लिइन्छ।

महोत्सवको सुरुवात नेपालका विभिन्न जातजाति र भूगोलको प्रतिनिधित्व गर्ने भव्य सांस्कृतिक परेडबाट हुनेछ। यस वर्षको मुख्य आकर्षणका रूपमा ‘नेपाल हाउस’ रहनेछ, जहाँ नेपाली हस्तकला, ऐतिहासिक सम्पदा तथा पर्यटकीय गन्तव्यहरूको विशेष प्रदर्शनी गरिनेछ।

महोत्वमा चर्चित कलाकारहरूको प्रस्तुति दिने कार्यक्रम तया गरिएको छ । कार्यक्रमको मुख्य मञ्चमा चर्चित गायक प्रमोद खरेल र ‘परम्परा ब्यान्ड’ ले सांगीतिक धमाका मच्चाउनेछन्। साथै लोकप्रिय गायिका रचना रिमालका साथै नेवारी, तामाङ सेलो लगायतका विभिन्न लोक तथा बहुसांस्कृतिक नृत्य र सांगीतिक प्रस्तुतिहरू रहनेछन्।

महोत्सवमा मःम, सेलरोटी लगायतका मौलिक नेपाली परिकारका स्टलहरू र ‘नेपाली टी टेस्टिङ’ (चिया चाख्ने) स्टल रहनेछन्। साथै नेपाली परम्परागत पोशाकको प्रदर्शनी र बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछ।

यस वर्षको महोत्सवमा नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका लागि विशेष कोष सङ्कलन अभियानसमेत सञ्चालन गरिने आयोजकले जनाएका छन्।

१५ हजार दर्शक सहभागी हुने अपेक्षा

महोत्सव  सफल बनाउन नेपाल एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया, पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्र लगायतका स्थानीय संघसंस्थाहरूले सहकार्य गरेका छन्। कार्यक्रममा पश्चिम अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरू, अष्ट्रेलियाका विभिन्न राज्यका एनआरएनए प्रतिनिधि तथा सामाजिक अगुवाहरूको सहभागिता रहनेछ।

आयोजकका अनुसार यस वर्षको फेस्टिभलमा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। एनआरएनए वेस्टर्न  अष्ट्रेलियाले पर्थ तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली र अष्ट्रेलियाली समुदायलाई फेस्टिभलमा सहभागी भई नेपाली संस्कृति र आत्मीयताको अनुभव लिन हार्दिक निमन्त्रणा गरेको छ।

प्रकाशित मिति : October 2, 2026 at 6:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/