सुकुम्वासीका पीडा भीडमा हराए, सरकारले भेद गर्न मिल्दैनः क्रान्तिशिखा धिताल
१६ असोज, काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका शृङ्खलाबद्ध घटनाहरूमा राज्य र समाजको क्षणिक चासोप्रति प्रश्न उठाएकी छिन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना प्राथमिकतामा पर्ने प्रवृत्तिले न्यायको खोजी ओझेलमा परेको भन्दै राज्यको संवेदनशीलतामाथि प्रश्न गरेकी हुन् ।
‘देशमा एउटा दु:ख आउँछ, केही दिन हामी चासो दिन्छौँ । तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ । हामीलाई एक प्रकारले दु:खको लत लागेको छ,’ धितालले भनिन्, ‘जेनजी आन्दोलन, मधेशको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछिको हत्या र रसुवाको बाढीजस्ता घटनाको भीडमा सुकुमवासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी गर्ने कार्य ओझेलमा परेका छन् ।’

उनले भनिन्, ‘हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौँ ? बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्।’ नागरिकको पीडा बीच राज्यले भेद गर्न नमिल्ने बताइन्। उनले भने,‘राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहोऔँ। पीडितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणामसहित उभियोस्।’
प्रकाशित मिति : October 2, 2026 at 12:55 pm






