पुँजीबजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्छः प्रियराज रेग्मी
१४ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजार सुधारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन्। बुधबार अर्थ समितिमा भएको छलफलमा रेग्मीले सरकार र नेपाल धितोपत्र बोर्डले अघि सारेका सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न रणनीतिक साझेदार आवश्यक रहेको बताए।
रणनीतिक साझेदारबिना सरकारले घोषणा गरेका कार्यक्रम तथा नेपाल धितोपत्र बोर्डले अघि सारेका नीतिगत सुधार कार्यान्वयन गर्न कठिन हुने उनको भनाइ छ । उनले ब्रोकर तथा मर्चेन्ट बैंकरलगायत पुँजी बजारका व्यवसायीको स्तरीकरण र मानकीकरण गर्नुपर्ने बताए । निश्चित मापदण्ड बनाएर उनीहरूलाई सुधार प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउनुपर्ने उनले बताए ।
‘नेपाल सरकारले घोषणा गरेका कार्यक्रम तथा धितोपत्र बोर्डले सुधार गरेका वा सुधार तथा परिमार्जन गर्न लागेका नीति–नियम कार्यान्वयन गर्न नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नु पूर्वसर्तजस्तै देखिन्छ,’ उनले भने, ‘अन्यथा यी सुधार कार्यान्वयन गर्न सहज हुँदैन ।’

रेग्मीले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना तथा निःशुल्क परामर्शका नाममा हुने भ्रमपूर्ण प्रचारलाई नियमन गर्नुपर्ने बताए। त्यस्तै, बुक बिल्डिङमार्फत आईपीओ निष्कासन प्रभावकारी बनाउन संस्थागत लगानीकर्ताको संख्या र भूमिका बढाउनुपर्ने उनको भनाइ छ।
उनले व्यक्तिगत र संस्थागत लगानीकर्ताबीचको करसम्बन्धी असमानताले संस्थागत लगानीलाई निरुत्साहित गरेको भन्दै करको भार घटाउनुपर्ने बताए। व्यक्तिगत र संस्थागत लगानीकर्ताबीच करको दरमा रहेको ठूलो भिन्नताले संस्थागत लगानीलाई निरुत्साहित गरेको उनको भनाइ छ ।
संस्थागत लगानीकर्ताको सहभागिता नबढेसम्म व्यक्तिगत लगानीकर्ताले मात्रै बजार सञ्चालन गर्ने अवस्था रहने र त्यसले बजारमा अस्थिरता कायम रहन सक्ने रेग्मीले बताए । यसैगरी, नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना प्रणालीमा पनि सुधार आवश्यक रहेको उनले बताए । रेग्मीले नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना गर्दा कारोबारका लागि उपलब्ध फ्लोट सेयरलाई आधार बनाउनुपर्ने सुझावसमेत दिएका छन्।
प्रकाशित मिति : September 30, 2026 at 1:17 pm




