तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
१४ असोज, काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको एक महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १४ गते २० अर्ब रुपैयाँको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार ३० दिनका लागि निष्कासन हुने उक्त निक्षेप संकलन उपकरणको बोलकबोल असोज १४ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत मात्र गर्न सकिनेछ। उक्त उपकरणको साँवा तथा ब्याज कात्तिक १३ गते भुक्तानी हुनेछ। बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले प्रस्ताव गर्ने ब्याजदर र निक्षेप रकम उल्लेख गर्नुपर्नेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकममा प्रस्ताव गर्न सकिनेछ। अधिकतम भने राष्ट्र बैंकले आह्वान गरेको कुल २० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था छ।निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन्।
प्रकाशित मिति : September 30, 2026 at 12:38 pm




