पुँजी बजार सुधारका लागि तीन चरणको रणनीति सार्वजनिक
१४ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार रणनीति अघि बढाएको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आज अर्थ समिति समितिको बैठकमा बजारका सहभागी तथा सरोकारवालाको सहभागितामा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिएर काम अघि बढाइएको जानकारी दिए ।
धितोपत्र बोर्डले पुँजी बजारमा सुधार ल्याउन प्राथमिक र दोस्रो बजारका लागि छुट्टाछुट्टै कमिटी गठन गरेको छ । यी समितिहरूमा नेप्से, सिडिएस एण्ड क्लियरिङ, नेपाल उद्योग वाणिज्य महासंघ र मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधिहरू संलग्न छन् । सुधार प्रक्रियालाई पारदर्शी बनाउन बोर्डले पहिले कन्सेप्ट पेपर तयार पार्ने, त्यसपछि समितिमार्फत छलफल गरी सार्वजनिक परामर्श लिने र अन्त्यमा नीति कार्यान्वयन गर्ने विधि अपनाएको छ ।
अध्यक्ष भट्टका अनुसार प्राथमिक बजारतर्फ आईपीओ निष्कासन, मूल्य निर्धारण (प्राइस डिस्कभरी), योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायत विषयमा सुधारका नीति तयार भइसकेका छन् । ती नीतिहरू बजारको तयारी र सहभागीको अवस्थालाई ध्यानमा राखेर क्रमश: कार्यान्वयन गरिनेछन् ।

बोर्डले बजारको रेडीनेसलाई मध्यनजर गर्दै सहभागीहरूलाई इन्गेज गराएर अघि बढ्ने रणनीति लिएको छ । दोस्रो बजार सुधारका लागि ब्रोकर संस्थाहरूको पुनर्संरचनालाई बोर्डले प्राथमिकतामा राखेको छ । ब्रोकरहरूलाई पारिवारिक व्यवसायको साँघुरो घेराबाट माथि उठाउँदै ’इन्डस्ट्रियल’ मोडलमा विकास गर्ने नीति बोर्डले पारित गरिसकेको छ । अब ब्रोकरहरूलाई कार्यक्षमता र सेवाका आधारमा चार श्रेणीमा विभाजन गरी स्टक डिलरसिपसहितको वृहत संरचनामा लैजाने योजना रहेको छ ।
उनले भने, ‘प्राथमिक र दोस्रो बजार सुधारका लागि धितोपत्र बोर्डले छुट्टाछुट्टै सुधार समिति गठन गरी काम अघि बढाएको छ । सुधारका नीतिहरू तयार गर्दा सम्बन्धित बजार सहभागी र सरोकारवालाको सहभागिता सुनिश्चित गर्दै सार्वजनिक परामर्शमार्फत सुझाव लिने व्यवस्था गरिएको छ । प्राथमिक बजारतर्फ आईपीओ, मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायतका विषयमा सुधारका नीतिहरू अघि बढाइएका छन् । दोस्रो बजारतर्फ ब्रोकर व्यवसायलाई पारिवारिक प्रकृतिबाट व्यवस्थित उद्योगका रूपमा विकास गर्ने तथा क्षमता अभिवृद्धि गर्ने नीति ल्याइएको छ । त्यसैगरी, दोस्रो बजारको प्रमुख पूर्वाधार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सुधारलाई प्राथमिकता दिइएको छ । ट्रेडिङ तथा अर्डर व्यवस्थापन, साइबर सुरक्षा, सूचना प्रविधि प्रणालीलगायतका क्षेत्रमा करिब ३१–३२ वटा नियामकीय व्यवस्था तयार गरी क्रमशः कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको छ ।’
प्रकाशित मिति : September 30, 2026 at 11:48 am




